बढ्दै महिलाको सम्पत्ती


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : बागमती प्रदेशमा महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन (दर्ता) बढेको छ। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले महिलाको नाममा रजिस्ट्रेसन बढेको देखाएको हो।

सम्पत्तिमा अधिकार दिलाउन सरकारले महिलालाई घरजग्गा रजिस्ट्रेसन गर्दा छुट दिँदै आएकोले उक्त छुट उपयोग गर्दै महिलाले आफ्नो नाममा सम्पत्ति राख्न थालेका हुन्। महिलाको नाममा घरजग्गा स्वामित्व बढेसँगै राजस्वमा कमी आएको छ। केन्द्रीय बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनअन्तर्गत गरेको प्रतिवेदनअनुसार सो प्रदेशमा घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व ०.५ प्रतिशतले घटेर ७ अर्ब ३१ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व २७.९ प्रतिशतले बढेको थियो। यस अवधिमा घर/भवन नक्सापास संख्या १४.९ प्रतिशतले घटेको छ। भूकम्पबाट क्षतिग्रस्त घरको पुन : निर्माण कार्य अन्तिम चरणमा पुगेको र कोभिड—१९ का कारण  घर/भवन स्थायी नक्सापास संख्यामा कमी आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।  सार्वजनिक निर्माण तथा रियलस्टेटअन्तर्गत गत आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा घरजग्गा रजिस्ट्रेसन १४.१ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा सो संख्या १२.७ प्रतिशतले बढेको थियो।

अन्डा उत्पादन घट्यो
सरकारले अन्डा उत्पादनमा आत्मनिर्भर नजिक भएको बताउँदै आएको छ। तर पछिल्लो समयमा उत्पादन घट्दै गइरहेको छ। केन्द्रीय बैंकले बागमती प्रदेशका १३ जिल्लाको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट अन्डाको उत्पादन घटेको पाइएको हो। अन्डाको उत्पादन ५.१ प्रतिशतले घटेको छ।  प्रतिवेदनअनुसार खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ०.२ प्रतिशतले बढेको छ। प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा अवधिमा मकै उत्पादन ०.१ प्रतिशतले बढेको छ। कोदो उत्पादन ०.१ प्रतिशत र धान उत्पादन २.५ प्रतिशतले घटेको छ। तरकारी उत्पादन २.१ प्रतिशतले बढेको छ। पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन ४ प्रतिशत र मासु उत्पादन १५.३ प्रतिशतले बढेको छ। बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट ४.१ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ।

उद्योगको क्षमता उपयोग आधा कम
यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४८.९ प्रतिशत रहेको पाइएको छ। गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४०.२ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा उपयोग बढे पनि अझै पूर्ण क्षमता उपयोग हुन नसकेको हो।  औद्योगिक उत्पादनमध्ये पशुदाना उत्पादन १६.० प्रतिशत, रङ उत्पादन ३५.७ प्रतिशत र इँटा उत्पादन ४१.४ प्रतिशतले बढेको छ चुरोट उत्पादन ८.४ प्रतिशतले घटेको छ।

नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग बढेको देखिन्छ। गत वर्षको यस्तो क्षमता उपयोग ४८.९१ प्रतिशत थियो। अघिल्लो वर्षको सोही अवधिमा नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४१.४५ प्रतिशत थियो। बियर उद्योगले सबैभन्दा बढी १५५.६६ प्रतिशत क्षमता उपयोग गरेको छ। अन्य रासायनिक पदार्थअन्तर्गत ट्याबलेटको क्षमता उपयोग सबैभन्दा कम ८.८१ प्रतिशत छ। सो प्रदेशका उद्योगमध्ये पशुदाना उत्पादन ३२.३ प्रतिशत, चाउचाउ उत्पादन ५.७ प्रतिशत, चुरोट उत्पादन १०.३ प्रतिशत, इँटा उत्पादन ३६.९ प्रतिशत, गार्मेन्ट उत्पादन १४.८ प्रतिशत, सिमेन्ट उत्पादन २२.७ प्रतिशत र रङ उत्पादन १८.३ प्रतिशतले बढेको छ।

प्रशोधित दूध उत्पादन ८.२ प्रतिशत, बियर उत्पादन ३१.५ प्रतिशत, हल्का पेय पदार्थ उत्पादन ९.१ प्रतिशत र कपडाको जुत्ता उत्पादन १८.१ प्रतिशतले घटेको छ। अध्ययनले समेटेका यस प्रदेशभित्र सञ्चालित उद्योगले ७ हजार ९ सय २८ जना नेपाली नागरिक र १ सय ३८ जना विदेशीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

यसैबीच बैंक तथा वित्तीय संस्थाले यस प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ९.७ प्रतिशतले वृद्धि भई ७ खर्ब ८२ अर्ब ९२ करोड पुगेको छ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ५५ अर्ब ७९ करोड पुगेको थियो। यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.६ प्रतिशत छ।

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ६ खर्ब ७१ अर्ब ७२ करोड (८५.८ प्रतिशत) कर्जा लगानीमा रहेको छ। रसुवा जिल्लामा सबैभन्दा कम ४४ करोड कर्जा (०.०६ प्रतिशत) लगानी छ।

अन्नपूर्ण पोष्टमा खबर छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता