डेढ वर्ष पछि खुल्यो रक्सौल नाका


मुलुककै ठूलो नाकामध्येको वीरगञ्जको रक्सोल नाका डेढ वर्षपछि पूणर् रुपमा खुला भएको छ । यो नाका हुँदै भारतीय यात्रुवाहक सवारीसाधनलाई नेपाल प्रवेश खुला गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो नाका २०७७ चैतदेखि बन्द थियो ।

संक्रमण कम भएपछि केही दिनअघि देखि पैदलयात्रुलाई यो नाका हुँदै वारिपारि गर्न अनुमति दिइएको थियो तर यात्रुवाहक सवारीसाधनलाई भने अनुमति दिइएको थिएन । शुक्रबारबाट यात्रुवाहक सवारीसाधनलाई पनि नेपाल प्रवेश गर्न अनुमति दिएपछि भारतीय नागरिक निजी सवारीसाधन लिएर नेपाल भित्रिएका छन् । असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारीसाधनले प्रवेश पाउने निणर्य कार्यान्वयनमा आएसँगै स्थानीय व्यापारीमा खुसी छाएको छ ।

भारतीय सबै खाले सवारीसाधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए । कोभिड-१९ महामारीका कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।

रक्सौल नाकाबाट भारतीय निजी सवारीसाधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए। सवारीसाधन आवतजावतले २ देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।


सम्बन्धित खवर

अन्तर्वार्ता