राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता आज


काठमाडौं : राष्ट्रियसभा सदस्यमा रिक्त हुने १९ सिटको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज हुँदैछ। माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेको विरुद्ध सत्ता गठबन्धन एकजुट बनेका छन् । सोमबार गठबन्धनको बैठकले उम्मेदवार भागबन्डा गरेका छन्। कांग्रेसले ६ सिट, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले ५/ ५, जनता समाजवादी पार्टीले २, राष्ट्रिय जनमोर्चाले १ सिटमा मंगलबार उम्मेदवारी दर्ता गराउन लागेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थलभित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ।

राष्ट्रियसभामा सत्तारुढको भागबन्डा, एमाले एक्लै

त्यस्तै प्रदेश २ को लागि महेन्द्र नारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदास्थल रहने गरी तोकिएको छ।

पहिले जुन पार्टीबाट सदस्य रिक्त भएको हो त्यो सिट सोही पार्टीलाई दिने, बाँकी रहने ८ सिटमा भने भागबन्डा गरिएको जनाइएको छ। एमाले भने एक्लै राष्ट्रियसभा सदस्य निर्वाचनमा उत्रिएको छ। राष्ट्रियसभाका २० सदस्यको पदावधि आगामी फागुनमा सकिँदै छ। जसमध्ये एमालेका ८, माओवादी र नेकपा एकीकृत समाजवादीका ४/४, कांग्रेसका ३ जना छन्। एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।

अहिले रिक्त भएकामा जसपा र जनमोर्चाका थिएनन्। गठबन्धन बैठकले एमालेले यसअघि जितेका ८ सिट भागबन्डा गर्दा कांग्रेसलाई ३, जनता समाजवादी पार्टीलाई २, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई १/१ सिट दिएको हो। भागबन्डाअनुसार उम्मेदवार निर्वाचित भए राष्ट्रियसभामा जनमोर्चाको पनि सांसद हुनेछ।

क-कसको सकिदैछ पदावधि ?

प्रदेश १ मा परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ मा शुभनराज प्याकुरेल र राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, बागमतीमा राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीमा दीनानाथ शर्मा र शान्तिकुमारी बीसी, लुम्बिनीमा दृग नारायण पाण्डे र कोमल वली, कर्णालीमा ठगेन्द्र प्रकाश पुरी र कविता बोगटी तथा सुदूरपश्चिममा शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदै छ।

समावेशी दलित समूहतर्फ गण्डकीमा खिमकुमार विक, सुदूरपश्चिममा चक्रप्रताप स्नेही र लुम्बिनीमा रामलखन चमार तथा अपांगता वा अल्पसंख्यकतर्फ कर्णालीमा जीवन बुढा र प्रदेश १ मा अगमप्रसाद वान्तवा राईको पदावधि सकिँदै छ।

राष्ट्रियसभामा मनोनीत तीनमध्ये रामनारायण बिडारीको पदावधि सकिँदै छ। अन्नपूर्ण पोष्टमा खबर द्द ।


सम्बन्धित खवर

अन्तर्वार्ता