केपी ओली भ्रष्ट,दलाल र बिचौलियाका मात्र संरक्षक हुन् : अधिवक्ता घनप्रसाद गौतम ; केन्द्रीय सदस्य नेकपा एकिकृत समाजवादी


घनप्रसाद गौतम नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य हुनुहुन्छ । पेशाले कानून व्यवसायी समेत रहनु भएका गौतम नेकपा एकिकृत समाजवादीको कानून विभागको सहइन्चार्ज समेत हुनुहुन्छ । तत्कालिन एमालेको केन्द्रिय सल्लाहकार समितिमा रहनु भएका गौतम विद्यार्थी कालदेखिनै कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आउनु भएका व्यक्तित्व हुनुहुन्छ । स्पष्ट वक्ता गौतम सहयोगी र सरल व्यवहार भएका नेताको रुपमा समेत साथी भाई बिच परिचित हुनुहुन्छ । एमालेसँग झण्डा बाहेक अरु केही नरहेको नेकपा एकिकृत समाजवादीसँग बिचार सिद्धान्त र इमान्दार नेतृत्व रहेकोले एकिकृत समाजवादीको भविष्य उज्वलरहेको बताउनु हुने गौतमसँग एकिकृत समाजवादीका गतिविधिको सेरोफेरोमा रहेर गरिएको कुराकानी ः

अधिवक्ता घनप्रसाद गौतम,केन्द्रिय सदस्य नेकपा एकिकृत समाजवादी पार्टी

० यहाँ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको केन्द्रीय सदस्य हुनुहुन्छ, अहिले एकिकृत समाजवादी पार्टी कसरी अगाडी बढिरहेको छ ?

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी नयाँ बनाएको पार्टी हो । त्यसैले हामी अहिले पार्टीलाई व्यवस्थित गर्ने कार्यमै सक्रिय छौं । यसरी व्यवस्थित गर्दा एउटा पक्ष सैद्धान्तिक स्पष्टता र अर्को संगठन सृदृढीकरणको कुरा आउँछ । सैद्धान्तिक रुपले हामीले स्पष्ट बिचार सिद्धान्त बनाइसकेका छौं । अब संगठन निर्माणमा सक्रिय छौं । सो क्रममा केन्द्रीय समिति बनेपछि प्रदेश कमिटी, ७७ वटै जिल्ला कमिटी,नगर र पालिका स्तरका कमिटीहरु बनाईसकेका छौं । एकाध बाँकी भएका पनि बन्ने क्रममा छन् । त्यसैगरी जनवर्गीय संगठन, भातृी तथा शुभेच्छुक संगठनहरुका पनि कमिटी गठन गर्ने कार्य गरीसकेका छौं । कमिटीहरु निर्माण गर्ने मात्र होइन ती चलायमान पनि छन् । यसरी हामी अहिले संगठन निर्माणमै सक्रिय छौं ।

० देशव्यापी रुपमा संगठन बनाईसकेको बताउनु भयो, पुर्व एमालेबाट विभाजित भएर तपाईहरुसँग नेता कार्यकर्ता कत्तिको समेटिएका छन् ?

नेकपा एमाले विभाजित हुँदा इमान्दार,सिद्धान्तनिष्ट र क्षमतावान नेता कार्यकर्ताहरु एकिकृत समाजवादीतर्फ लाग्नु भएको छ । बैचारिक सैद्धान्तिक स्तर भएका विधि र पद्यती मान्नु पर्दछ ,भन्ने पार्टीका जुनसुकै स्तरका संगठित सदस्य भएपनि ति एकिकृत समाजवादीमा समेटिएका छन् संख्याकै कुरा गर्दा पनि एमालेबाट करीब ४० प्रतिशतले विद्रोह गरेर एकिकृत समाजवादीमा संगठित भएका छौं । अहिले पनि विगतमा केन्द्रीय समितिमा रहेका, सांसद भएकादेखि विभिन्न कमिटीमा रहेर काम गरेका साथीहरु एमाले छाडी समाजवादी पार्टीमा आउने क्रम जारी छ । दिनदिनै उता छाड्ने र यता आउने क्रम जारी छ । यसरी आउनुको कारण एमाले पार्टी जस्ले बनाउनु भयो उहाँहरुले नै एकिकृत समाजवादी पार्टी बनाउनु भएको हो । हाम्रो पार्टी अध्यक्ष माधव कुमार नेपाल बरिष्ठ नेता झलनाथ खनाल जस्ले एमाले पार्टी बनाउनु भएको थियो, उहाँहरुले नै अहिले एकिकृत समाजवादी पार्टी बनाउनु भएको हो । यसरी सबै नेता हामीसँग भएपछि सबै साथीहरु यतै आर्कषित हुनु भएको छ । अहिले हामी संख्यात्मक भन्दा गुणात्मक रुपले अगाडी छौं । अहिलेनै मास देखाउनु पर्दछ भन्ने छैन । विचार सिद्धान्त सही छ । असल मान्छे हामीसँग हुनुहुन्छ, एमालेको मुलप्रवाहनै एकिकृत समाजवादीमा भएपछि यहाँ संख्या कति छ भन्ने भन्दा पनि यो मूल प्रवाह हो ।

० यहाँले सैद्धान्तिक बैचारिक रुपले स्पष्ट नेता कार्यकर्ता एकिकृत समाजवादीमा भएको दावी गर्नु भयो तर केपी ओलीले त कम्युनिष्ट पार्टी विभाजित गरेर काँग्रेस पार्टीको नेतृत्वमा सरकार बनाउनेले बिचार सिद्धान्त विधि पद्यतीका कुरा गर्न नसुहाउने बताउनु हुन्छ नि ?

हामीले सानासाना कम्युनिष्ट पार्टीहरुलाई पहिलादेखिनै एकतामा ल्याउँदै आएका थियौं, सोही क्रममा २०७५ जेठ ३ गते एमाले र नेकपा माओवादी बिच पार्टी एकता भयो । त्यसपछि ऐतिहासिक रुपमा नेकपा बन्यो । त्यसपछि हामी जनतासँग हामीलाई मत दिनुस हामीले देशमा संमृद्धी ल्याउँछौ, राम्रो गर्दछौं भनेर चुनावमा गयांै । हाम्रो नारा नै सुखी नेपाली संमृद्ध नेपाल थियो । जनताले झण्डै दुईतिहाई नजिक हुनेगरी बिजयी गराउनु भयो । एकिकृत पार्टीमा दुईजना अध्यक्ष हुनु भयो । केपी शर्मा ओली र प्रचण्ड, सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नु भयो । तर त्यसपछि अध्यक्ष समेत रहेर प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले पार्टीलाई विधि पद्यतीमा चलाउनु भएन । पार्टीमा आफूमालिक अरु दास जस्तो सम्झनु भयो । मैले जे गरे पनि हुन्छ भन्ने उहाँमा भयो । सरकारको नेतृत्व गर्दा पनि राम्रो काम गर्नु भएन उखान टुक्का र गफ मात्र गर्ने तर काम नगर्ने अवस्था देखियो । भ्रष्टचार गर्दिन भन्ने तर वरीपरी भ्रष्टचारी मात्र राख्ने । उहाँले सामान्य इमान्दार कार्यकर्ताको होइन व्यापारी, भ्रष्टचारीको मात्र संरक्षण गर्न थाल्नु भयो । म त्यति बेला पार्टीको केन्द्रीय सल्लाहकार कमिटीमा थिए, मैले मेरो अध्यक्षलाई भेट्न दलाल, भ्रष्टचारी वा बिचौलिया समाउनु पर्ने भयो । यस्तो पनि कम्युनिष्ट पार्टी हुन्छ । केपीसँग कम्युनिष्ट पार्टीको झण्डा मात्र छ बिचार व्यवहार आचरण केही छैन । यस्तो भएपछि बाध्य भए हामीले बिचार सिद्धान्त आर्दश बचाउन बिद्रोह गरेका हौं । अदालतबाट जब एमाले र माओवादी अलग अलग हुने भनेर आयो । त्यसपछि हामी बिद्रोह गर्न बाध्य भयौं । किनकी केपी ओलीले जनता र सामान्य कार्यकर्तालाई अवसर दिने संरक्षण गर्ने गर्नु भएन उहाँले त दलाल, व्यापारी र भ्रष्टलाई मात्र संरक्षण गर्ने अवसर दिने गर्नु भयो । त्यसपछि हामीले बाध्य भए बिद्रोह ग¥यौं । केपी ओलीले संसद पटक पटक विघटन गर्नु भयो । पहिलो पटक विघटन गर्दा अदालतले पुनस्थापना गरेपछि उहाँले आफूले नैतिकताको आधारमा राजिनामा दिएर पार्टीमा अरु साथीहरु पनि हुनुहुन्छ भनि अरुलाई मौका दिनु पर्ने थियो । उहाँले त्यसो गर्नु भएको भए नैतिकता देखाउनु भएको भए अहिलेको अवस्था आउने थिएन । उहाँले त त्यसो गर्नु भएन । बरु पुन विघटन गर्नु भयो । सर्वोच्च अदालतमै एउटा बेन्च उहाँले गर्ने असंवैधानिक कार्य रोक्न सधैखडा भएर बस्नु पर्ने भयो, उहाँले मनलाग्दी गर्ने सच्चाउन सर्वोच्चमै एउटा बेन्च सधै बस्नु पर्ने भयो । जनताका मुद्धा १०÷१५ वर्षअघिदेखि क्युमा छन् ति हेर्न नभ्याउने अवस्थामा छन् । तर केपी ओलीले संविधान मिचीरहने त्यही सच्चाउन नै न्यायधिसहरुको समय जाने अवस्था भयो । उहाँसँग झण्डा मात्र हो, बिचार सिद्धान्त नैतिकता केही छैन ।

० नेकपा एमाले र एकिकृत समाजवादीमा बैचारिक रुपले के भिन्नता छ ? दुबैले जनताको बहुदलिय जनवादनै मान्ने होइनन र ?

भिन्नता धेरै छ, एमालेसँग झण्डा र चिन्ह बाहेक अरु केही छैन, हामीसँग विचार नीति कार्यक्रम छ । चिन्ह त केबल प्राविधिक कुरा हो । केपी ओलीलाई त जनताले हेरीसके उहाँ प्रम हुँदा के गर्नु भयो र ? उहाँ प्रमबाट निस्कदा आठ खर्ब भन्दाबढी ऋण बढ्यो । के यो बिचमा ठूला हस्पितल बन्यो ? विश्वविद्यालय बने त ? अहं केही बनेका छैनन । वामपन्थीहरुले समाजवाद भन्छन तर केपी ओलीले त समाजवादको स पनि लिन चाहनु भएन । उहाँ र हामीमा व्यवहार सिद्धान्त संगठन चलाउने पद्यतीदेखि हरेक कुरामा फरक छ । उहाँसँग मोती दुगड, दुर्गा प्रसाई जस्ता व्यापारी हुन्छन् हामीसँग सिद्धान्त निष्ट इमान्दार नेता कार्यकर्ता हुनुहुन्छ । उहाँले बिचारको राजनीति गर्नु हुन्न हामीले बिचारको राजनीति गर्दछौं, समाजलाई बुझेको जनताको पक्षमा काम गर्ने बिचार,सिद्धान्त र नेता हामीसँग हुनुहुन्छ ।

० मेरो सोधाई दुबैको बिचार जनताको बहुदलिय जनवाद होइन र भन्ने हो ?

जनताको बहुदलिय जनवादमा भएका कमि कमजोरी सच्चाउँदै समाजवादमा पुग्ने मार्ग चित्र त चाहिन्छ । त्यसै जनताको बहुदलिय जनवाद भनेर मात्र हुँदैन । त्यही अनुरुपको नीति कार्यक्रम र व्यवहार हुनु पर्दछ । केपी ओली नेतृत्वको एमालेसँग यी कुनै कुरा छैनन । हामीसँग जनताको बहुदलिय जनवादमा भएका अपुर्णतालाई पुर्णता दिँदै समाजवादसम्म कसरी पुग्ने भन्ने नीति कार्यक्रम र मार्गचित्र छ ।एमालेसँग छैन ।

० अब भावि दिनमा कसरी अगाडी बढ्नु हुन्छ ?

अब निकट भविष्यमा स्थानिय तह, त्यसपछि संघ र प्रदेशको चुनाव हुँदैछ, यी तिनै तहका चुनावमा हामी हाम्रा एजेण्डा सहित जान्छौं । हामीले संगठन सुदृढ बनाउँदै समाजवादको बारेमा जनतालाई बुझाउँछौं । नेताको कारणले कहिले काँही गल्ति हुनसक्छ, जनताले कहिल्यै गल्ति गर्दैनन तर नेताले गल्ति गर्न सक्छन् । विगतमा त्यस्तै भयो ।जनताले मतएर केपी ओलीलाई प्रधानमन्त्री बनाए तर उहाँले गल्ति गर्नु भयो । उहाँले राम्रो काम गर्नु भएन अब हामीले जनतासँग माफि माग्नु पर्नेछ । जनताले हामी समेतलाई देखेर मत दिनु भयो तर केपी ओलीको गुटले त्यसको दुरुपयोग गरे । त्यसैले जनताकोमा जाँदा हामीले नयाँ पार्टी किन बनाउनु प¥यो, हामीले बिद्रोह किन गर्नु प¥यो, भन्ने बुझाउँदै अबको हाम्रो बाटो के हो ? हाम्रो नीति कार्यक्रम र लक्ष्य के हुन्छ भने कुरा लिएर जनताकोमा जान्छौं । जनताले धेरै कुरा बुझ्न हुन्छ, उहाँहरुले अब एमालेलाई के भनेर मत दिने ? के फेरी देशमा भाँडभैलो मच्चाउन केपी ओलीलाई मत दिने ? फेरी उहाँले गल्ति गर्दै जाने अनि अदालतमा सच्चाउन एउटा बेन्च खडा गरेर बसिरहने ? जजहरु जहिले पनि केपी ओलीका कुकर्म सच्चाउन बसिरहनु पर्ने ? यसो गर्नु हुन्न त्यसैले अब केपी ओलीको काम छैन, यही कुरो जनतामा लिएर जान्छौं ।

० केपी ओलीले राम्रो गरेनन भन्नु भयो, यहाँहरुले पो के राम्रो गर्नु भएको छ र ? अहिले केन्द्र सरकारदेखि प्रदेश सरकारको नेतृत्वमा यहाँहरु नै हुनुहुन्छ नि ?

हामी सरकारमा सहभागि भएको धेरै समय भएको छैन । फेरी यो गठबन्धनको सरकार हो । अहिले त केपी ओलीको सरकारले गरेका कुकर्म सच्चाउँनै समय गईरहेको छ । नारायणहिटी भित्र बतास समूहलाई कौडीको भाउमा जग्गा लिजमा दिएका रहेका छन् रेष्टुरेण्ट चलाउन दिएका रहेका छन्, हाम्रो मन्त्री त्यो सच्चाउनु भयो । त्यस्तो पुरातात्ववीक महत्वको क्षेत्र संरक्षण गर्ने, पर्यटनको निम्ती आर्कषणको केन्द्र बनाउनु पर्दछ भनेर हाम्रा मन्त्रीलागि रहनु भएको छ । अहिले त केपी ओलीले गरेका नराम्रा काम सच्चाउँदै राम्रा काम गरीरहनु भएको छ । राम्रा कामको परिणाम आउन त समय लाग्दछ । राम्रो परिणाम आउँछ ।

० अहिले पाँचदलिय गठबन्धन छ यसमा पनि संकट आउँदै छ भन्छ नि ?

त्यस्तो छैन यो त केपी ओलीले फैलाएको हल्ला मात्र हो । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्रियसभाको चुनावमा मिलेर जाँदैछौं । यो गठबन्धन स्थानिय र संघीय चुनावसम्ममै रहन्छ । यो गठबन्धन हामी कमजोर भएर चुनाव जित्न सकिदैन भनेर बनाएका होइनौं । प्रतिगमन बिरुद्धमा अग्रगामीहरुको मोर्चा बनाएर जानु पर्छ भन्ने सचेतना सहित बनाएका हौं । गणतन्त्र मास्न चाहने, संघियता नचाहने बिरुद्ध संघियता र गणतन्त्रका पक्षधरको मोर्चा बनाएका हौं । परिवर्तनका उपलब्धी बचाउँदै देशमा परीवर्तनको अनुभूति दिन मुलुक बनाउनको निम्ती भएको गठबन्धन हो । त्यसैले यो गठबन्धन टुट्दैन रहन्छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता