कबड्डी ४ को धमकेदार ओपनिङ


काठमाडौं । चलचित्र ‘कबड्डी ४’ ले आक्रामक ओपनिङ गरेको छ । पहिलो दिन शुक्रबार चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्यो। कबड्डी–४ लाई मल्टिप्लेक्स हलले उच्च शो दिएका थिए । सोहीअनुसार दर्शक पनि ओइरिएपछि सुखद् सुरुवात गरेको हो ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन् । पहिलो दिन सबै शोहरु हाउसफुल भए। कबड्डी ४ ले पहिलो दिन साढे २ देखि ३ करोड रुपैयाँ कलेक्सन गरेको बताइएको छ । शुक्रबार देशभरका साना–ठूला सबै हल हाउसफुल भए ।

निर्देशक रामबावु गुरुङले पनि चलचित्रले उत्साहजनक ओपनिङ गरेको जानकारी पाएको बताए । शनिबारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ। आइतबारको ६५ प्रतिशत टिकट बिक्री भइसकेको छ । कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो ।

यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट विक्रीबाट पहिल्यै ३ करोड रुपैयाँ कमाइसकेको छ । निर्माण पक्षका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। नेपालका हलबाट हुने आम्दानी फिल्मको पूर्ण मुनाफा हो । चलचित्रको ‘केशरी’ बोलको गीत बहुचर्चित छ । यो गीतले चलचित्रको व्यापारमा पनि योगदान गरेको अनुमान गर्न सकिन्छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता