नेपाली कांग्रेसबाट को–को शीर्ष नेता बसे समानुपातिकमा ?


काठमाडौं । नेपाली कांग्रेसले चार दिन छलफल गरेर समानुपातिकतर्फ उम्मेदवार तय गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा समानुपातिकमा बस्न मानेनन् । कांग्रेसका १३ पदाधिकारीमा २ जना मात्रै समानुपातिकमा बसेका छन् । सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फ बसेको कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई बताए ।

मन्सुर बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए भने परियार कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि पनि समानुपातिकतर्फ नाम समावेश गरिएको छ । निधि २०७४ मा धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए । यसपालि निधिलाई धनुषा कांग्रेसले समानुपातिकतर्फ नै सिफारिस गरेको थियो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई चुनावी क्षेत्र छाड्न पर्ने हुन सक्ने बताइरहेका थिए । नेता गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकतर्फ बन्दसूचीमा समावेश रहेको ती नेता बताउँछन् । केन्द्रीय सदस्य आरजु राणा देउवा पनि समानुपातिकतर्फ बसेकी छन् ।

आरजु कैलाली क्षेत्र नम्बर ५, बाँके क्षेत्र नम्बर ३, बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ र डडेल्धुराबाट समानुपातिकतर्फ सिफारिस भएकी थिइन् । २०७४ मा आरजु कैलालीबाट पराजित भएकी थिइन् । कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फ आज उम्मेदवारको सूची आयोगमा पेश गरेको हो ।

सूची पेश गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डेलगायत नेता आयोगमा पुगेका थिए । कांग्रेसले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगमा बुझाएको छ । आयोगमा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूची पेश गर्ने प्रयोजनका लागि निर्वाचन अधिकृत कार्यालय नै सञ्चालनमा ल्याएको छ । कांग्रेसले पाँचदलीय गठबन्धन गरी चुनावमा जाने निर्णय गरेको थियो। प्रत्यक्षतर्फ कुन दलले कति सिट पाउने निश्चित भइसकेको छैन ।


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ