जानुका बस्नेत – नेपाली जनता दलको तर्फबाट बाग्मती प्रदेश सभाका सांसदका उम्मेदवार हुनुहुन्छ। दोलखाको बैतेश्वर नगरपालिकामा २०४९ साल भाद्र १८ गते जन्मिनुभएकी बस्नेत रुद्र बहादुर र कृष्णकुमारी बस्नेतकी कान्छी सुपुत्री हुनुहुन्छ ।
भारतको केरला स्थित बाईबल कलेजमा मास्टर्स अफ थियोलोजी अध्ययनरत बस्नेत सामाजिक तथा सांस्कृतिक विषयमा अध्ययन /अनुसन्धान गर्न रुचाउनुहुन्छ । ‘क्रिश्चियनिटीभित्र जातीय विभेद ‘ शीर्षकमा रिसर्च गरिरहनु भएकी बस्नेत सानै देखि नयाँ विषयमा चासो राख्ने गर्नुहुन्थ्यो ।
विशेषत: नेपालको ग्रामीण जनजीवनमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही गर्ने लक्ष्य रहेको बताउनुहुने बस्नेत नेपाली जनता दलको सामाजिक न्याय सहितको जनतावाद र मानवतावादी सिद्धान्तले राजनीतिमा आफू आकर्षित भएको बताउनुहुन्छ । संघीयता , गणतन्त्र , धर्मनिरपेक्षता , समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीका सन्दर्भमा पार्टीले स्थापना काल देखि नै लिएको अडानका कारण राजनीतिक परिवर्तन संभव भएको बस्नेतको बुझाइ छ ।
बाग्मती प्रदेशमा नेपाली जनता दलको राम्रो संगठन रहेको र यहाँ को धेरै जस्तो भूभागमा आफूले काम गरेकाले बस्नेत यसपटक प्रदेश सांसद हुने कुरामा ढुक्क हुनुहुन्छ । बाग्मती प्रदेश सांसद भइसकेपछि महिला तथा बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने आफ्नो योजना रहेको बस्नेतले बताउनु भयो । ‘ मलाई सीमान्तकृत समुदायको बीचमा शिक्षा ,स्वास्थ्य र सरसफाईका कार्यक्रम गर्ने रहर छ । देखाउने खालको कार्यक्रम होइन – उपलब्धिमूलक कार्यक्रम । ‘ बस्नेतको थप भनाइ थियो ।