दलहरुलाई समानुपातिक सांसदको सूची बुझाउन तीन दिनको समय


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फका सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय दिएको छ । समानुपातिकबाट दलहरुले पाउने सांसद संख्या र क्लष्टर छुट्याएर नाम पठाउनका लागि आयोगले दलहरुलाई पत्र पठाउने तयारी गरेको हो । त्यसका लागि अहिले आयोगको बैठक बसिरहेको छ ।

तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका दलहरुले मात्रै समानुपातिक सांसद पाउने छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्रै तीन प्रतिशत मत कटाएका छन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फको ११० सिट अब सात दलमा समानुपातिक मतका आधारमा विभाजन हुनेछ । जसअनुसार नेकपा एमालेले ३३, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १४÷१४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट पाउने देखिएको छ। अन्तिम परिणाम आउँदा यो संख्यामा केही तलमाथि हुनसक्छ ।

दलहरुले समानुपातिकतर्फका सांसदको नाम पठाइसकेपछि आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछ। अहिले प्रतिवेदन लेखनको काम पनि भइरहेको र मंसिर २७ गते राष्ट्रपतिलाई बुझाइने आयोगले जानकारी दिएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता

स्वास्थ