डेब्युमै हिट कलाकारः धेरैको करिअर रफ्तारमा, केही गुमनाम


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका हिट गायक प्रकाश सपूत अभिनेताका रूपमा चलचित्र प्रवेश गरे । सपूत डेब्यु चलचित्र नै हिट भयो । गत दशैंमा प्रदर्शनमा आएको उनी अभिनीत चलचित्र ‘परदेशी २’ले हलमा ५१औं दिन मनाएको थियो । सोही अवसरमा निर्माण टिमले आयोजना गरेको सेलिब्रेसन कार्यक्रममा चलचित्रकी अभिनेत्री केकी अधिकारीले प्रकाशलाई बधाई दिँदै भनेकी थिइन्, ’यो मोमेन्ट बिताउन मैले ३३ वटा चलचित्र कुर्नुपर्‍यो । १३ वर्ष कुर्नुपर्‍यो । डेब्युमै सफलता पाउने भाग्य कमै कलाकारको हुन्छ ।’ पहिलो प्रयासमै सफलताको अनुभव लिन लगनशीलतासँगै भाग्यले पनि साथ दिनुपर्ने आशय उनको थियो ।

उसो त पहिलो चलचित्रबाटै सफलताको स्वाद चाख्ने प्रकाश पहिलो कलाकार होइनन् । पुराना अभिनेता राजेश हमाल, निखिल उप्रेतीदेखि नयाँ पुस्ताका रुचाइएका अभिनेता अनमोल केसी, पल शाहसम्मले पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखेका हुन् । राजेश र निखिल अहिले चलचित्र क्षेत्रमा त्यति सक्रिय छैनन् भने अनमोल र पल अहिलेका रुचाइएका अभिनेतामा पर्छन् । ‘होस्टेल’बाट डेब्यु गरेका अनमोलले ‘ड्रिम्स’, ‘जेरी’, ‘गाजलु’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’ जस्ता हिट चलचित्रमा काम गरिसकेका छन् । हाल ‘फर्की फर्की’ चलचित्रको छायांकनमा व्यस्त रहेका अनमोललाई लिएर चलचित्र बनाउन चाहनेहरू प्रशस्तै छन् । यता, म्युजिक भिडियोमा जमिरहेका बेला ‘नाइँ नभन्नू ल ४’बाट चलचित्रमा उदाएका पलको योसँगै ‘शत्रुगते’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्र हिट छन् । अहिले ‘मायावी’ चलचित्रको छायांकन सकेका उनी लगत्तै ‘पूजार सार्की’ नामक चलचित्रमा काम गर्दैछन् ।

त्यस्तै, अभिनेत्री रेखा थापादेखि वर्षा शिवाकोटी, वर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, सुहाना थापासम्म पहिलो चलचित्रबाटै सफलता पाउनेमा पर्छन् । ‘हिरो’बाट चलचित्र क्षेत्रमा उदाएकी रेखाको आगामी चलचित्र ‘उपहार’ फागुन २५ बाट प्रदर्शनमा आउँदैछ । ‘नाइँ नभन्नू ल २’बाट उदाएकी वर्षा शिवाकोटी, ‘नाइँ नभन्नू ल ४’बाट उदाएका वर्षा राउत र आँचल शर्मा चलचित्र क्षेत्रमा रोजाइका अभिनेत्री हुन् । ‘होस्टेल रिटर्नस्’बाट उदाएकी स्वस्तिमा अहिले सर्वाधिक रोजाइकी अभिनेत्रीमा पर्छिन् । यही वर्ष उनका ‘पशुपति प्रसाद २ः भस्मे डन’ र ‘दिमाग खराब’ गरी दुई चलचित्र हिट भइसकेका छन् । म्युजिक भिडियो र विज्ञापनहरूमा पनि उनी निकै रोजाइमा पर्ने गरेकी छन् । ‘होस्टेल रिटर्नस्’बाटै उदाएका दुई अभिनेता सुशील श्रेष्ठ र सुशील सिटौला पनि निरन्तर चलचित्रमा काम गरिरहेका छन् । उनीहरूले पछिल्ला चलचित्रबाट सफलता भने पाउन सकिरहेका छैनन् ।

सांगीतिक क्षेत्रमा पनि पहिलो गीत/भिडियोबाट चर्चामा आउने गायक/गायिका एवं मोडलहरू थुप्रै छन् । पछिल्लो समयका चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहान पहिलो गीतबाटै चर्चामा आउनेमध्येमा पर्छन् । समीक्षाको पहिलो गीत ‘बालापनको उमेर’ औधी रुचाइएको थियो भने एलिनाको ‘के माया लाग्छ र ?’ लाई स्रोता-दर्शकले निकै रुचाएका थिए । यी दुवै गायिकाहरू अहिले रेकर्डिङ र स्टेज कार्यक्रममा व्यस्त छन् । यहाँ पछिल्ला वर्ष चलचित्र र सांगीतिक क्षेत्रमा डेब्यु मै सफलता पाएका अन्य केही कलाकारहरूका बारेमा चर्चा गरिएको छ । उनीहरूको डेब्युपछिको यात्रा कस्तो छ ? समेत यहाँ उल्लेख गरिएको छ ।

सलिनमान बनिया,अभिनेता

६ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’बाट उदाएका अभिनेता हुन् सलिनमान बनियाँ । झरना थापाको निर्देशनमा तयार यो चलचित्रमा काम गरेपछि सलिनमानले लोभलाग्दो क्रेज बनाए । चलचित्रले राम्रो व्यवसाय गर्‍यो । यसपछि सलिनमानले चलचित्र ‘यात्रा’मा काम गरे । चार वर्षअघि प्रदर्शनमा आएको यो चलचित्रले भने अपेक्षाकृत व्यापार गर्न सकेन । यसपछि उनी कुनै चलचित्रमा देखिएका छैनन् । अहिले पनि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरू बाक्लै रहेका छन् । यद्यपि, उनले चलचित्रमा काम गर्ने इच्छा देखाएका छैनन् ।

धीरज मगर,अभिनेता

अभिनेता धिरज मगर पनि पहिलो चलचित्रबाटै चर्चामा आएका थिए । साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्दै ‘इन्टु मिन्टु लण्डनमा’बाट धिरजले चलचित्र उद्योगमा डेब्यु गरेका थिए । यो चलचित्र २०७५ सालमा प्रदर्शनमा आएको थियो । त्यसयता धिरजले काम गरेका ‘बाबरी’, ‘ज्याकी आइएम ट्वान्टी वान’ र ‘एक भगवत र एक गीता’ले अपेक्षाकृत व्यापार गर्न सकेनन् । यीमध्ये ‘एक भगवत र एक गीता’ गत भदौंमा प्रदर्शनमा आएको थियो ।

सुहाना थापा,अभिनेत्री

चार वर्षअघि प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’बाट चलचित्रमा डेब्यु गरेकी अभिनेत्री हुन सुहाना थापा । आमा झरना थापाको निर्देशनमा तयार चलचित्रले राम्रो व्यापार मात्र गरेन, सुहानाको उत्तिकै चर्चा भयो ।

त्यसपछि सुहानाले ‘ए मेरो हजुर ४’मा काम गरिन् । उक्त चलचित्र पनि बक्स अफिसमा सफल रह्यो । होम प्रोडक्सनभन्दा बाहिरको प्रोजेक्टमा काम नगरेकी सुहानाको पछिल्लो चलचित्र ‘एक भगवत र एक गीता’ भने सफल हुन सकेन ।

साम्राज्ञी राज्यलक्ष्मी शाह,अभिनेत्री

अहिले रोजाइमा पर्नेमध्येकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पहिलो चलचित्रबाटै चर्चामा आएकी थिइन् । ७ वर्षअघि अनमोल केसीसँग जोडी बाँध्दै ‘ड्रिम्स’ चलचित्रबाट साम्राज्ञीले अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन् । चलचित्रले राम्रो व्यापार गरेको थियो । त्यसपछि उनले अभिनय गरेको ‘ए मेरो हजुर २’पनि हिट सावित भयो । बिचमा केही चलचित्र असफल भए पनि पछिल्लो समय उनी अभिनीत ‘नाङ्गो गाउँ’ले राम्रो व्यवसाय गरेको थियो ।

क्रिष्टिना गुरुङ,अभिनेत्री

पहिलो चलचित्रबाटै लोभलाग्दो चर्चा पाउने अभिनेत्री हुन् क्रिष्टिना गुरुङ । ‘प्रेम गीत ३’मा छनोट भएदेखि चलचित्र प्रदर्शन हुँदासम्म नै उनले निकै चर्चा पाइन् । प्रदीप खड्काको जोडीका रूपमा उनी प्रस्तुत भएको चलचित्र गतवर्षको असोजमा प्रदर्शनमा आएको थियो । ‘प्रेमगीत ३’ का कारण उनको चर्चा नेपालमा मात्र सीमित थिएन, भारतलगायत देशमा रहेका नेपालीमाझ समेत क्रिष्टिना चर्चित बनेकी थिइन् ।

किनकि उक्त चलचित्र नेपाल, भारतसँगै विश्वका धेरै देशमा एकसाथ प्रदर्शनमा आएको थियो । चलचित्र प्रदर्शनमा आएपछि भने क्रिष्टिना गुमनामजस्तै हुन पुगेकी छन् । एक वर्षभन्दा लामो समयसम्म उनले दोस्रो चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । चलचित्रको अफर नपुगेर वा हो पुगेर पनि कथा चित्त नबुझेका कारण काम नगरेकी हुन् भन्नेबारे क्रिष्टिनाले केही खुलाएकी छैनिन् ।

गीता ढुंगाना,मोडल

नेपाली म्युजिक भिडियोमा अहिलेकी सर्वाधिक व्यस्त मोडल हुन् गीता ढुंगाना । झण्डै चार वर्षअघि ‘ओए काजल’ बोलको गीतबाट उनी म्युजिक भिडियोमा उदाएकी थिएन् । उनको पहिलो भिडियो नै निकै हिट भएपछि उनी निकै व्यस्त बन्दै गइन् । उनले मोडलिङ गरेका ‘चम्चा पिलेट’, ‘चौका दाउ’, ‘झमझम झम्कना’, ‘खोली तारि देउन माझी दाइ’, ‘सरर भागौंला’लगायत गीत निकै चर्चित छन् । हिजोआज पनि नियमितजसो उनका म्युजिक भिडियोहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । उनको मोडलिङ करिअर रफ्तारमा अगाडि बढिरहेको छ ।

दिनेश ढकाल,गायक

दुई वर्षअघि सार्वजनिक ‘कालो केशमा रेलिमई’ बोलको गीतलाई स्रोता-दर्शकले औधी रुचाए । चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकाहरुले समेत यो गीतको निकै प्रसंशा गरे । सोही गीतका गीतकार, संगीतकार एवं गायक हुन् दिनेश ढकाल । उनको यो पहिलो गीत थियो । यो गीतपछि फिमेल भर्सनमा समेत सार्वजनिक भएर त्यसले पनि माया पाइसकेको छ । डेब्युमै लोभलाग्दो चर्चा पाएका दिनेशले त्यसपछि पनि केही गीतहरू सार्वजनिक गरिसकेका छन् । तर, अन्य गीतहरूको चर्चा उतिसाह्रो हुन सकेका छैन ।

कुसुम शर्मा,मोडल

प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट मोडलिङमा डेब्यु गरेकी हुन् कुसुम शर्माले । यसवर्षको वैशाखमा सार्वजनिक यो गीत निकै चलेको थियो । भिडियोमा कुसुमको अभिनयको पनि निकै प्रशंसा भयो । डेब्यु भिडियो अत्यधिक हिट भएसँगै उनलाई अन्य म्युजिक भिडियोबाट अफर पुग्न थाल्यो । त्यसयता कुसुमले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । यद्यपि, सुरुवाती चर्चा अनुसार म्युजिक भिडियोमा उनको व्यस्तता उतिसाह्रो भने देखिएको छैन । कुसुमले चलचित्रमा समेत अभिनय गर्दैछिन् । निर्देशक दिनेश श्रेष्ठले अभिनेता आर्यन सिग्देल र कुसुमलाई लिएर ‘सञ्जिवनी’ चलचित्र बनाउने घोषणा गरेको केही महिना भइसकेको छ । यद्यपि, उक्त चलचित्रको छायांकन कहिलेबाट सुरु हुने टुंगो लागिसकेको छैन । कुसुम प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’मा पनि देखिँदैछिन् ।

अरुण क्षेत्री,अभिनेता

प्रदीप भट्टराईको निर्देशनमा तयार गतवर्षको सफल चलचित्र ‘महापुरुष’बाट डेब्यु गरेका अभिनेता हुन् अरुण क्षेत्री । अडिसनमार्फत छनोट भएर चलचित्रमा काम गरेका अरुणले पहिलो चलचित्रमा अभिनयको प्रसंशा पाए । तर, यो चलचित्रमा उनी अर्का अभिनेता वरिष्ठ कलाकार हरिवंश आचार्यको छायाँमा परेका कारण धेरै चर्चा भने भएन । त्यसपछि अरुणका दुई चलचित्र ‘प्रेमा’ र ‘ज्याक आइएम ट्वान्टी वान’ प्रदर्शनमा आइसकेका छन् । यी दुवै चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेनन् ।

अञ्जना बराईली,अभिनेत्री

‘महापुरुष’बाटै अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् अञ्जना बराईलीले । ‘घुमी घुमी’लगायत केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी त्यसपछि अन्य चलचित्रमा भने देखिएकी छैनन् । उनको आगामी चलचित्र ‘चित्रा’ पुसको २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाश सपूत,गायक एवं अभिनेता

‘ब्याक टु ब्याक’ हिट गीत दिइरहेका गायक हुन् प्रकाश सपूत । उनले ल्याउने प्रायः सिर्जनालाई लिएर दर्शकमाझ छुट्टै खालको चर्चा हुने गर्छ । उनै प्रकाशको पहिले चलचित्र ‘परदेशी २’ सुपरहिट भइसकेको छ । यो चलचित्र प्रदर्शनमा नआउँदै उनलाई अन्य थुप्रै चलचित्रबाट अफर पुगेको थियो । यद्यपि, उनले आफूले पहिलो चलचित्र ‘परदेशी २’ होस् भन्ने चाहनाले अरु चलचित्रमा काम नगरेको बताएका थिए ।

यतिबेला प्रकाश आफैं चलचित्र निर्माण एवं निर्देशनको तयारीमा छन् । आगामी वैशाखमा उनको चलचित्रको घोषणा हुने बुझिएको छ । उनले यतिबेला नयाँ गीत ‘मुटु कटक्कै’ सार्वजनिक गर्ने तयारी गर्दैछन् । यो उनको ‘परदेशी २’ हिट भएपछिको पहिलो गीत हुनेछ । पछिल्ला वर्ष पहिलो चलचित्र वा गीतबाटै चर्चामा आउने अरु कलाकारहरू समेत छन् । तीमध्ये केही निरन्तर सक्रिय छन् भने केही भने गुमनामसमेत भइसकेका छन् ।


सम्बन्धित खवर