गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।
६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । तर सबैभन्दा ठुलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत पाउन मुस्किल देखिएको छ । कांग्रेसको २७ सांसद रहँदा उनलाई ४ जनाको समर्थन आवश्यक पर्छ । त्यसका लागि उनले २ सीट रहेको राप्रपा, नेकपाका सांसद तर, माओवादीबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दिपक मनाङेलाई मनाईरहेका छन् ।
नेसपाका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पाण्डेलाई विश्वासको मत दिएको अवस्थामा मात्र राप्रपाले पक्षमा मत दिने स्रोतको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भने देवकोटा नेसपाको सांसद भएको बताउँदै आएको छ । तर, प्रदेश सभाले उनलाई नेसपाका सांसदका रूपमा नभइ माओवादी केन्द्रकै रूपमा चिन्छ । प्रदेशसभा सचिवालयमा पनि उनलाई माओवादी केन्द्रकै सांसद भनेर उल्लेख गरिएको छ । देवकोटाले पाण्डेलाई विश्वासको मत दिए माओवादीले कारबाही गर्न सक्ने डर पनि छ ।
माओवादीले कारबाही गरेर सांसदबाट पदमुक्त गरेमा सो विवाद सर्वोच्च अदालतसम्म पुग्नेछ । त्यस्तोमा देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना पनि कमै रहेको माओवादीको दाबी छ । उनले मत नदिएमा भने पाण्डे सरकार ढल्नेछ । संविधानको धारा १६८ को उपधारा ५ अनुसारको नयाँ सरकारको गठन पक्रिया अघि बढ्नेछ । यसैबीच नेपाली कांग्रेसले भने आफ्ना सबै सांसदलाई आइतबारदेखिनै सुविधा सम्पन्न रिसोर्टमा राखेको छ । प्रदेश सभा भवनभन्दा १३ किलोमिटर टाढा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा कांग्रेसका सांसदलाई राखिएको छ । उनीहरू रिसोर्टबाटै सिधै संसद भवन आउने तयारीमा छन् ।