नेपाल पस्यो मनसुन, सुरु भयो बर्खायाम


काठमाडौं । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालमा आज (जुन १० तारिख) प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो ।

नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो । महाशाखाले भनेको छ, नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ ।

भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो । मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमशः देशमर फैलिन्छ ।

मनसुन प्रवेश गरेसँगै औपचारिक रूपमा बर्खायाम सुरु भएको छ । यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन् ।


सम्बन्धित खवर