काठमाडौं । सत्ता गठबन्धनको बैठकमा संविधान संशोधनको विषयले प्रवेश पाएको छ । बालुवाटारमा सोमबार भएको बैठकमा संविधान संशोधनको एजेण्डालाई अगाडि बढाउने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
कांग्रेस-एमालेबीच भएको ७ बुँदे सहमतिको जगमा सरकार बनेकाले संविधानको एजेन्डा पनि अगाडि बढ्ने उनले बताए । संविधान संशोधनका विषयमा माओवादीले भ्रम फैलाएको छ । संविधान संशोधनसँग जसरी अनर्गल प्रचार गरिएका छन् । त्यसलाई तोडदै संविधान संशोधनका विषमा व्यवस्थित गृहकार्य गरेर अघि बढ्नेछौं, उनले भने ।
७ बुँदे सहमतिको जगमा सरकार बनेकाले संविधान संशोधन हुनेमा ढुक्क हुनेले प्रतिवद्धता जनाए । उनले सरकारको काम कारबाहीको विषयमा गठबन्धनमा साझा धारणा बनाउने विषयमा पनि छलफल भएको बताए । सरकारको काम कारबाहीमा सबै दलको मत एउटै होस् भन्ने चाहना छ, बर्तौलाले भने । नेताहरूबीच सरकार र संसदको कामलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संविधान संशोधनको विषयमा साझा सहमति आवश्यक रहेको बताए । संविधान संशोधन जटिल विषय हो । यसमा सबैको साझा सहमति हुनु आवश्यक छ । संविधानका कुन-कुन विषय संशोधनमा लैजाने भन्ने विषयमा बढीभन्दा बढी सहमति आवश्यक छ । यसलाई दलीय र जनतामा पनि लैजानुपर्छ, उनले भने ।