मोरङ । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन शुरू गरेका छन् । कार्कीले प्रदेश सभा सचिवालयको गेट अगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक अनशन सुरु गरेका हुन् । उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो ।
तर त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की ४ बजे अनशन बस्न पुगेका थिए । अनशनस्थलमा प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, केही प्रदेशसभा सदस्यहरु, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरु पनि पुगेका छन् । अनशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले हालसम्म कुनै हस्तक्षेप भने गरेको छैन ।
कार्कीको अनशनलाई रोक्नका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा लगाइएका स्थानमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइएको हो । सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने कुनै असर पर्ने छैन । प्रजिअ भट्टराईले निषेधित क्षेत्र तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० ‘क’ बमोजिम निषेधाज्ञा जारी गरेका थिए ।
विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निणर्यअनुसार निषेधाज्ञा जारी गरिएको भट्टराईले उल्लेख गरेका छन् । आदेशको उल्लंघन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।
किन बसे अनशन ?
वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी अनशन बसेका हुन् । उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्की मंगलबार अपरान्ह ४ बजेदेखि आमरण अनशन बसेका हुन् । उनले आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनले बताएका छन् ।
उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन बसेका हुन् । अहिले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार भए पनि कांग्रेसको निवर्तमान सरकारका कार्यक्रमको बेवास्ता भएपछि कार्कीले अनशनको बाटो रोजेका हुन् ।