काठमाडौं । बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा यसवर्ष दशैँ मनाउन गाउँ फर्किनेको संख्या घटेको छ । दशैँका लागि १८ लाख मानिसले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएकोमा आज फूलपातीको दिनसम्म मात्र आठ लाख बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आजसम्ममा स्थलमार्ग हुँदै काठमाडौँबाट बाहिरिनेको संख्या आठ लाख हाराहारी छ । पर्सीसम्म थप दुई लाख मानिस काठमाडौँबाट बाहिरिने महासंघको अनुमान छ । अघिल्ला वर्षहरुमा सरदार १२ देखि १५ लाख मानिस दशैँ मनाउन काठमाडौँबाट गाउँ जाने गर्थे ।
प्राकृतिक प्रकोप र त्यसले निम्त्याएको असहजताका कारण यसवर्ष अनुमान गरेभन्दा कमले काठमाडौँ छोडेको महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए । शुक्रबारसम्म उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु बाहिरिन्छन् यकीन तथ्यांक आउँन भने बाँकी नै छ । काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट मानिसहरु बाहिरिएका छन् ।
जसमध्ये सबैभन्दा धेरै नागढुंगा र साँगा नाकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको बताए ।