काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ । सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ ।
सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।
ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।
सो ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय समेत बाहिरिएको छ । मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।