अन्ततः नेपालले लिने भयो बीआरआई सहयोग, पहिलो चरणमा दश परियोजना


काठमाडौँ । अन्ततः नेपालले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटि (बीआरआई) परियोजनालाई स्वीकारेको छ । सात वर्षदेखि बीआरआई परियोजना स्वीकार गर्ने कि नगर्ने भन्दै सडकदेखि संसदसम्म निकै विवाद भए पनि अन्ततः नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेलामा बुधबार बीआरआई सहयोग लिने आधिकारिक पत्रमा हस्ताक्षर भएको हो ।

हुनत सन् २०१७ मा तत्कालीन परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बीआरआई सम्झौतामा हस्ताक्षर गरेका थिए । तर त्यसपछि यो बीआरआई कुन मोडालिटीमा स्वीकार गर्ने वा बीआरआई ऋण नै नलिने भन्ने लामो समयदेखि बहस चल्दै आएको थियो ।

ओली चीन जानुअघि पनि दुई कित्तामा नेपाली राजनीतिक विभाजित भएको थियो । पहिलोमा जेसुकै भए पनि छिमेकीले दिएको ऋण लिनुपर्छ भन्ने थियो भने नेपाली कांग्रेसले शुरुआतमा बीआरआई ऋण स्वीकारै गर्न नहुने बताउँदै आएको भए पनि पछिल्लो समय भने बीआरआईलाई ऋणमा नभइ अनुदानमा स्वीकार गर्न सकिने बताएको थियो ।

तर प्रधानमन्त्री ओली चीन जानुअघि कांग्रेसका नेताहरुसमेत सहभागी भएको टोलीले बीआरआईका खाका नै बनाएको थियो । यद्यपि त्यो खाका अनुसार अहिले हस्ताक्षर भएको हो कि हैन भन्ने अझै खुलेको छैन । चीनले भने अनुदान (ग्रान्ट) भन्ने शब्द भने हटाएको छ । जसका कारण बीआरआई अनुदानमा हो कि ऋण नै लिने हो भन्ने यकिन हुन सकेको छैन ।

अनुदान शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि मंगलबार हस्ताक्षर हुन सकेको थिएन । तर फेरि बुधबार भने मत नमिलेपछि हस्ताक्षर भएको हो । यो हस्ताक्षरसँगै अब बीआरआई अन्तर्गत नेपालमा धमाधम परियोजना अगाडि बढ्ने छन् ।

बीआरआई हस्ताक्षर गर्नुअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा बदल्ने सहमति पनि पालना भए नभएको यकिन छैन । हस्ताक्षरअनुसार अहिलेलाई बीआरआई अन्तर्गत १० परियोजना परेका छन् । जुन फ्रेमवर्कमा नेपालबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनबाट नेशनल डेभलपमेन्ट कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।

यी हुन् दश परियोजना-
१, टोखा-छहरे सुरुङमार्ग
२, हिल्सा-सिमकोट सडक परियोजना
३, किमाथाङ्का-खाँदबारी सडक र पुल
४, जिलोङ-केरुङ-काठमाडौँ सीमापार रेलमार्ग
५, डडेलधुरास्थित अमरगढी सिटी हल
६, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७, मदन भण्डारी विश्वविद्यालय
८, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९, दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क
१०, झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन् ।


सम्बन्धित खवर