
काठमाडौं । माझी समुदायको महान् पर्व लदी (कोशी पूजा) आज मंगलबार भव्य रुपमा मनाइँदै छ । खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले लदी पर्व मनाउँदै छन् ।
माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार विशेष पर्वको रुपमा लिएर लदी पर्व मनाउने गरेका छन् । यस वर्षको लदी पर्व फागुनको तेस्रो साता मंगलबार आज परेको हो ।
माझी समुदायको मुख्य पेशा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदैँ आएको छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् ।
माझी समुदायले आजको दिन खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् ।