
धादिङ । धादिङको थाक्रे गाउँपालिका-५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो ।
घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । ‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो ।’ प्रहरी उपरीक्षक केसीले भन्नुभयो ।
यसैबीच, गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका-५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।
आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूणर्रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोही ठाउँका पूणर्बहादुर मगरको गोठ पनि जलेको उहाँले बताउनुभयो । पालुङटार नगरपालिका-९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।