जेठ १५ गते दिउँसो १ बजे बजेट प्रस्तुत गरिने


काठमाडौँ । नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१-२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन् । संसदको सबैभन्दा ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधबीच सरकारले अहिलेसम्मका गतिविधि गर्दै आएको छ ।

विरोधबीच नै नीति तथा कार्यक्रम पारित भएको छ । गृहमन्त्री रवि लामिछाने लाखौँ नेपालीले बचत गरी राखेको सहकारीको ठगी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले विरोध गरिरहेको छ ।


सम्बन्धित खवर