जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने


काठमाडौं । यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू-भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए । हाल मुलुकका विभिन्न भू-भागमा भइरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जनाए । नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ ।

यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ ।

ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ । मनसुनको आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आँकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए ।

जलवायु विज्ञ डा धर्मराज उप्रेतीले यो वर्षको मनसुन शनिबारसम्म भारतको आसाम, सिक्किम र सो वरिपरिका भागमा पुगिसकेको बताए । ‘भारतको केरलामा निर्धारित मितिभन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिनअघि नै मनसुन पुगेको देखिन्छ, उनले भने, ‘यही विषयलाई आँकलन गर्दा भारतका भू-भागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मिति भन्दा एक साताअघि नै प्रवेश गर्ने आँकलन गर्न सकिन्छ ।

गत वर्ष आसाम र सिक्किममा मनसुन पुगेको तीन दिनमा कोशी, मधेस र गण्डकी प्रदेशमा पुगेको थियो। गतवर्ष आसाममा जुन १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मै पुगेको छ। त्यो गत वर्षभन्दा १२ दिन अगाडि हो । मनसुनी वायु थप सक्रिय हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमै मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ ।


सम्बन्धित खवर