काठमाण्डौं : नेपाल राष्ट्र बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।
बैंकले मंगलवार एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ ।
बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।
केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई १७ करोड २५ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।