
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरोकारवाला विज्ञहरुको सुझावका आधारमा मात्रै ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अगाडि बढाउने बताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबार गरेको ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल’ कार्यक्रममा मन्त्री भट्टराईले विधेयक संशोधनकर्ताले राखेको संशोधनलाई समावेश गरी विधेयकलाई पूणर्ता दिने बताउनुभएको हो ।
‘विद्यालय शिक्षा विधेयकलाई फेरि चरणबद्ध रुपमा छलफल सुरु गरेका छौँ, यसलाई सम्पन्न गर्नुपर्ने हाम्रो पहिलो दायित्व हो, यो विधेयक जतिसक्दो चाँडो बनाइयो भने, आज विद्यालय शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुन्छ, यो ठूलो उपलब्धि हुन्छ,’ उहाँले भन्नुभयो।
मन्त्री भट्टराईले विद्यालयको स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा एकरुपता ल्याउनका लागि पनि विद्यलय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।