मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको बद्ढो जोखिमलाई मध्यनजर गर्दै यस पटकको होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको र नेपालसँग खुल्ला सिमानाका कारण कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै जिप्रका मकवानपुरले यस वर्षको होली, नयाँ वर्ष तथा चाडपर्व घरमा नै बसेर मनाउन आग्रह गरेको हो ।

प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि मेला, महोत्सव, होली तथा नयाँ वर्ष जस्ता चाडपर्वमा भीडभाड नगर्न आग्रह गरेको हो ।
प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणबाट बच्न सामाजिक तथा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न सबैमा आग्रह गरेको छ । यस अघि जिल्लामा हुने भीडभाड हुने खालका सभा, सम्मेलन तथा गोष्ठी नगर्न आग्रह गर्दै प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको थियो ।