एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार प्रदान


काठमाडौं । सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनलाई पूणर् सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट निवदेनलाई अग्राधिकार दिँदै पूणर् सुनुवाइको लागि पेस गर्न आदेश गरेको हो ।

२०८० मंसिर २२ मा प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले एनसेलविरुद्ध रिट निवेदन दर्ता गर्नु भएको थियो । यो मुद्दामा पेसी चढेपछि नटुंगिँदासम्म पूणर् (लगातार) सुनुवाइ हुने भएको हो । एनसेलको सेयर खरिदबिक्री प्रकरणविरुद्ध रिट निवेदनमा यसअघि सर्वोच्चले एनसेललाई सेयर बिक्री गर्न दिनुको कारण सोधेको थियो ।

आठ वर्षअघि एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले गत साल नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोड रूपैयाँमा बिक्री गरेपछि विवाद सुरु भएको थियो ।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानि पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिदबिक्री भएको दाबी गर्दै स्वतन्त्र सांसद सिंहले रिट निवेदन दर्ता गर्नु भएको हो ।

यसै विषयमा उच्च अदालत पाटनमा पनि छुट्टै रिट निवेदन दर्ता भएको थियो । उच्च अदालतले तत्कालै एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोकिएको थियो ।

उच्च अदालत पाटनको आदेशबमोजिम एनसेलले सेयर बिक्री गर्न नपाउने भएको थियो । सर्वोच्च अदालतमा परेको रिट निवेदन भने अझै विचाराधीन रहेको छ ।


सम्बन्धित खवर