सुशासन र स्थायित्वका लागि कांग्रेस-एमालेको सरकार – प्रधानमन्त्री ओली


तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थिरता, स्थायित्व, सुशासन र विकासको गतिमा अघि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेको बताएका छन् । बुधबार आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका-४, इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै ओलीले देशको अप्ठ्यारो स्थितिलाई हेरेर कांग्रेस एमालेको सरकार बनेको बताएका हुन् ।

विगतको राजनीतिक घटनाक्रमले देशको सुशासन र विकासमा देखिएको असन्तुलित परिस्थितीलाई सुगति दिनका लागि पनि सरकार बनाइएको उनले बताए । आफ्नो आधारभूत शिक्षा पूरा गरेको उक्त विद्यालय १८ कोठे भवनको प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका थिए ।

यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरे। उक्त विद्यालयमा प्रधानमन्त्री ओलीले कक्षा ४ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले बताए ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा कुल चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको विद्यालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते आठराई गाउँपालिकास्थित ईवामा जन्मिएका हुन् ।


सम्बन्धित खवर