गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन


चितवन, १० श्रावण । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए। नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन्। ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए। गुरुङका छोरा देश बाहिर रहेकाले आइतबार अन्त्येष्टि गरिने छ । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् ।


सम्बन्धित खवर