
काठमाडौं, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन् ।
उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरेका थिए । उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराए ।
ओलीले ’यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि, अरूसँग परामर्श गर्नुभयो’ भनेर सोधेका थिए । राष्ट्रपति पौडेलले ’संविधानकै बाटो खोज्ने हो र सबैसँग कुरा पनि भइसक्यो’ भने । त्यसपछि ओलीले ’त्यसो भए ठीकै छ’ भनेको स्रोतले जनाएको छ । त्यस्तै राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरे । देउवाले ’संविधान अनुसार गर्नुस्, मेरो सहमति छ’ भने ।
राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरे । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि शितल निवासमै उनले छलफल गरेका थिए ।
उनले संविधानविदहरूसँग पनि शितल निवासमै बिहीबार अपराह्न ४ बजेदेखि परामर्श गरे । संविधानविद पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, चन्द्रकान्त ज्ञवाली, ललित बस्नेतलाई उनले शितल निवासमा डाकेका थिए । संविधानविदहरूले संसद र संविधान भित्रैबाट नियुक्तिको बाटो खोज्नुपर्ने सुझाए । तर राष्ट्रपतिले अहिले राजनीतिक परिस्थितिका कारण त्यो सम्भव नभएको बताएका थिए ।
अहिले संविधान संशोधन गर्न निवर्तमान प्रधानमन्त्री ओलीले संसदमा प्रस्ताव पेस गर्नुपर्ने र त्यो बाटो अहिले सुरक्षाका कारणले सम्भव नभएको राष्ट्रपतिले बताए । संसद बसेर, पूर्वप्रधानन्यायाधीश कार्कीलाई संसदभित्र अहिले छिराएर, संविधानको बाटोबाट प्रधानमन्त्री बनाउन पनि राजनीतिक र सुरक्षाका कारणले सम्भव नभएको उनले संविधानविदहरूलाई भने ।
अर्कातिर चाँडै प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भनेर जेन–जी समूहको एकदमै ठूलो दबाब रहेको पनि राष्ट्रपतिले बताएका थिए । राष्ट्रपतिले संसद बोलाउन वा निवर्तमान प्रधानमन्त्रीले प्रस्ताव पेस गर्न सुरक्षा हिसाबले सम्भव नभएको र समय पनि नभएको भनेपछि संविधानविदहरूले यस्तो संकटको अवस्थामा एउटा बाटो हामीले पहिले पनि निकाल्दै आएको हो र संविधान अनुसार राष्ट्रपति संविधानको संरक्षक र पालनकर्ता भएकाले त्यसैका आधारमा प्रधानमन्त्री नियुक्त गर्न सकिने भनेर सुझाए ।
’संविधानको धारा ६१ (४) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ । संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर नियुक्त गर्न हामीले सुझाएका छौं,’ ती संविधानविदले भने। सुशीला कार्कीलाई यसअघि खिलराज रेग्मीलाई जस्तै, अन्तरिम मन्त्रिपरिषदका अध्यक्षका रूपमा नियुक्त गर्ने कि भन्नेबारे पनि छलफल चलेको थियो। निर्वाचन गराउन गठित अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष भन्ने कि प्रधानमन्त्री नै भन्ने भन्नेबारे पनि छलफल भएको थियो ।
नियुक्त प्रधानमन्त्रीले संसद विघटन र चुनावको मिति सिफारिस गर्ने उनले बताए । जेन–जी समूहद्वारा प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि बिहीबारै राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलसँग भेट र छलफल गरिन् । कार्कीले राष्ट्रपति बाहेक कुनै पनि राजनीतिक दलका नेताहरूसँग म भेट्दिनँ भनेर उनीहरूसँग भेट्न वा छलफल गर्न नमानेको स्रोतले बताएको छ ।