
काठमाडौं, ८ कात्तिक । शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेनजी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेनजी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।
जेनजी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘हामी जेनजीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’
त्यस्तै, अर्का वक्ता मन्जना राईले जेनजीले बनाएको सरकारले जेनजीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन् ।
‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ । जेनजीले बनाएको सरकार छ । जेनजीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन् ।
आफूहरुले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरुको भनाई छ ।
जेनजी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेनजीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए । घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेनजीमाथि नै दमन गरिरहेको उनले बताए ।