
काठमाडौं, पुस १८ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस तीव्र बन्दै जाँदा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा १५औँ महाधिवेशनको अन्योल, विशेष महाधिवेशनको प्रस्ताव र पछिल्लो राजनीतिक परिस्थिति मुख्य एजेन्डा रहनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष सक्रिय बनेको छ। विशेष महाधिवेशनले पार्टी कमजोर हुने र विभाजनको जोखिम बढ्ने निष्कर्षसहित देउवाले आन्तरिक छलफल तीव्र पारेका छन्।
यसैक्रममा देउवाले बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छुट्टाछुट्टै छलफल गरेका थिए। महाराजगञ्जस्थित निवासमा भएको छलफलमा विशेष महाधिवेशन रोक्ने रणनीतिबारे विचार–विमर्श गरिएको स्रोतले जनाएको छ।
पुस २६ देखि २८ गतेसम्म तोकिएको १५औँ महाधिवेशन निर्धारित समयमा नहुने निश्चित भएपछि महामन्त्रीद्वय थापा–शर्मा विशेष महाधिवेशनको पक्षमा खुलेका हुन्। उनीहरू हल व्यवस्थापनदेखि विधान संशोधनसम्मका तयारीमा जुटेपछि संस्थापन पक्ष थप सचेत बनेको हो।
यसअघि महाधिवेशनको मितिलाई लिएर करिब एक महिनासम्म चलेको बैठकमा तीव्र विवाद देखिएको थियो। अन्ततः नियमित महाधिवेशनको मिति तय गरिए पनि कार्यान्वयन नहुँदा असन्तुष्टि चुलिएको छ।
संस्थापन पक्ष २१ फागुनको निर्वाचनपछि नियमित महाधिवेशन गर्ने रणनीतिमा देखिएको छ भने संस्थापनइतर समूह तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने अडानमा छ। सहमति नजुटेपछि कांग्रेस आन्तरिक शक्ति संघर्षको निर्णायक मोडमा पुगेको छ।