मनुस्मृति माथि शल्यक्रिया


• रघु परियार

हिन्दु बहुल समाजमा मनुस्मृति र यसले निर्धारण गरेका उत्पत्ति देखि अन्त्यसम्मका संस्कार, आचार तथा विचारले अत्यधिक महत्त्व पाएको छ। बेलायतले भारतलाई उपनिवेश बनाइसके पछि मुसलमानहरुले शारिया र हिन्दुहरुले मनुस्मृति अघि सारे ।ब्रिटिशहरुले मनुस्मृतिलाई आधार बनाएर “इन्डियन पेनल कोड” बनाइसकेपछि बिश्वभर मनुस्मृतिले खास चर्चा पायो ।भारतीय संविधान मस्यौदा समितिका संयोजक डा. भीमराव अम्बेडकरले सन् १९२७ मा मनुस्मृतिलाई सार्वजनिक कार्यक्रममा प्रत्येक पन्ना पन्ना जलाइसकेपछि भने विवाद ,संशय,आक्रोश र एक खालको वितृष्णा पनि सिर्जना भयो जनमानसमा ।तथापि भारत वर्षमा पेरियर स्वामी तथा स्वामी अग्नीवेशले पनि मनुस्मृतिको दहन गर्नुभएको इतिहास छ।हिन्दु धार्मिक समुदायले वेदलाई संविधान र मनुस्मृतिलाई ऐन,कानुन सरह मानेको पाउँछौं ।जस्तो कि ऋग्वेदको पुरुष सुक्त र मनुस्मृतिको प्रयुक्त श्लोकलाई हेरौं ।

 

तस्मादश्र्व अजायन्त ये के चोभयादत:

गाव ह जज्ञिरे तस्मात तस्माज्जाता अजावय:।।

ब्राह्मणोस्य मुखमासीद बाहु राजन्य: कृत:

ऊरु तदस्य यद्वेश्य: पद्वयां शुद्रो अजायत ।।

(ऋग्वेद १०/९०/१०,१२)

विराट पुरुषबाट दुबै तिर दाँत भएको र गाई,बाख्रा भेडा आदि उत्पन्न भए।त्यस विराट पुरुषको मुख ब्रह्मज्ञानी,पाखुरा शुरवीर, तिघ्रा वितरण गर्ने वैश्य र गोडा श्रम गर्ने शुद्र भावले प्रकट गराए ।

 

लोकानान्तु विवृद्ध्यर्थ मुखबाहुरुपादत:

ब्राह्मणं क्षत्रियं वैश्य शुद्रं च निरवर्तयत ।।

(मनुस्मृति १/१४/३३)

अनादि ब्रह्माले लोककल्याणकारी हेतु आफ्नो मुख,बाहु,तिघ्रा र गोडाबाट क्रमशः ब्राह्मण ,क्षत्री ,वैश्य र शुद्रको उत्पन्न गर्नुभयो ।

 

मनु र धार्मिक मत

 

मनुलाई सृष्टिको आदि मानवको रुपमा ब्याख्या गरिन्छ ।हिन्दु मतको अनुसार प्रथम मनु स्वायंभुव मनु थिए भने स्त्री थिइन् शतरुपा। यिनै बाट नै समस्त मानव संसारको रचना भयो ।फलतः मनुष्य ,मानिस ,मानव नामाकरण भयो ।यसको जडमा १४ मनुको ब्याख्या गरिएको छ। ती यसप्रकारका छन् :

 

स्वायम्भुव मनु

स्वरोचिष मनु

अौत्तमी मनु

तामस मनु

रैवत मनु

चाक्षुस मनु

वैवस्वत वा श्राद्धदेव मनु

सावर्णी मनु

दक्ष सावर्णी मनु

ब्रह्म सावर्णी मनु

धर्म सावर्णी मनु

रुद्र सावर्णी मनु

देव सावर्णी वा रौच्य मनु

इन्द्र सावर्णी वा भौत मनु

 

श्वेत बराह कल्पमा १४ मनुहरुको उल्लेख भए पनि महाभारतमा ८ मनुहरुको मात्र उल्लेख छ। श्रीमद्भागवत अनुसार पनि सृष्टिको प्रारम्भ वैवस्वत मनु र उनकी स्त्री श्रद्धादेखि भएको मानिएको छ। सप्तद्वीपवती पृथ्वीमा मनु महाराजको राज्य थियो ।यसै समय मनुस्मृतिको रचना भएको मानिएको छ। यही कालका ऋषिहरु मरिची, अत्री,अंगीरस,पुलह,कृतु,पुलस्य र वशिष्ठ सहित महाराज मनुले मानव समाजको विकास गर्नुभएको धार्मिक मत छ। मनुस्मृति सृष्टिकर्ता ब्रह्माबाट मनुलाई र मनुबाट भृगु ऋषिलाई प्राप्त भएको मानिन्छ ।

 

मनुस्मृतिकाल

 

सन् १९३२मा चिनमा एउटा फलामको ट्याङ्की मिलेको थियो ।जापानले गरेको बम विस्फोटको क्रममा मिलेको उक्त ट्याङ्कीभित्र पुरातात्त्विक पाण्डुलिपिहरु थिए ।पछि यी पाण्डुलिपिहरु सर आगस्टन रिट्स जाँर्जले ब्रिटिस म्युजियममा बुझाउनु भएको थियो ।चिनका राजा शी लेज बाङ्गले आफ्नो शासनकालमा सबै प्राचीन पुस्तकहरु जलाउने आदेश दिनु भएको थियोे ।सोही समयमा एक जना विद्वानले ट्याङ्की भित्र हालेर गाडेका थिए ।संयोगबस बम बिस्फोट हुदा ट्याङ्की उछिट्टिएर बाहिर आयो । उक्त पाण्डुलिपि मध्ये एउटामा “मनुको धर्मशास्त्र भारतमा सर्वाधिक मान्य छ। ६८० श्लोकवद्ध धर्मशास्त्र १०,०००वर्ष भन्दा धेरै पुरानो मानिएको छ” भनेर लेखिएको थियोे ।तर वर्तमानको मनुस्मृतिमा २५००का हाराहारीमा श्लोकहरु रहेका छन् ।बुहलर र म्याक्स मुलरले बि.सं.५७ को वरिपरि काश्मिरी क्षेत्रमा मनुस्मृतिको रचना भएको मान्नुभएको छ ।अोलीवेली र डेरेटले बि.सं.६००-६५०को समयावधि अनुमान गर्नु भएको छ। जयसवालले मौर्य बंशको अन्त्य पछि शुरु भएको शुङ्ग साम्राज्यको समयलाई मनुस्मृतिको रचनाकाल मान्नु भएको छ।अर्थात् पुष्यमित्र शुङ्गले राज्यभिषेक गरेको इ.पु. १८४ यताको समय। यसमा उहाँको मत छ ,शुङ्गको शासनकाल “ब्राह्मणवादी प्रतिक्रान्ति” काल थियोे र मनुस्मृति यसको दस्तावेज हो ।

 

उल्झन

 

झण्डै २५०० का हाराहारीमा श्लोक रहेको मनुस्मृतिमा २००० भन्दा बढी श्लोकहरु ब्राह्मण र क्षत्रीका लागि लेखिएका छन्। बाँकी रहेका श्लोकहरुमा वैश्य र शुद्र तथा सृष्टिको उत्पत्ति ,विकास ,आचार, विचार र संस्कार छन् । ब्राह्मण ,क्षत्री र वैश्यलाई द्विजातीय मानिएको छ ।त्यसैले शुद्रलाई उपनयन गर्न ,कर्मकाण्ड गर्न,पुजापाठ गर्न तथा वेद पाठ गर्न निषेध गरिएको छ।एकै अपराधको सजाय समेत जाति पिच्छेको फरक तोकिएको छ।ब्राह्मणको सेवा गर्नु नै धर्म र स्वर्ग जाने बाटो हो भनिएको छ।शुद्रलाई धन संचय गर्न निषेध गरिएको छ। केही मनुस्मृतिका प्रतिनिधि श्लोकहरू हेरौं:

 

स्य शूद्रस्तु कुरुते राग्यो धर्मविवेचनम ।

तस्य सीदति तद्राष्ट्रंपङ्के गौरिव पश्यत: ।। २१ ।। (अध्याय आठ)

जुन राजाका राज्यमा शूद्रलाई न्यायको अधिकारी बनाइएको हुन्छ त्यस राज्यले भासमा गाडिएको गाईझैँ दु:ख पाउँछ ।

 

एकजातिर्द्विजातींस्तु वाचा दारुणया क्षिपन ।

जिव्हाया: प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि स: ।। २७०।। (अध्याय आठ)

शुद्रले ब्राह्मण, क्षत्रीय र वैश्यलाई पापी, अपराधीआदि क्रूर वचन बोल्योभने त उसको जिब्रो छिँड पार्ने दण्ड दिनुपर्छ । किनकि, उसको उत्पत्ति नै जघन्य स्थानबाट भएको हो ।

 

नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वत: ।

निक्षेप्योयोमय: शङ्कुर्ज्वलन्नास्ये दशाङ्गुल: ।। २७१ ।।

(अध्याय आठ)

यदि शूद्रले रिस वा घमण्ड गरेर ब्राह्मणादी द्विजातिको नाम लिन्छ्भने दस अङ्गुल लामो पोलेर तातो पारेको फलामको सुइरो पुरै त्यसका मुखमा हालिदिनुपर्छ ।

 

धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वत: ।

तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिव: ।। २७२ ।।

(अध्याय आठ)

यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउनुपर्छ ।

 

अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृप: ।

अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम ।। २८२ ।।

(अध्याय आठ)

राजा र ब्राह्मणमाथि घमण्ड गरेर थुक्ने शूद्रका दुबै ओठ, लिङ्ग र मलद्वार काट्न लगाउनुपर्छ ।

 

केशेषु गृह्णतो हस्तौ छेदयेदविचारयन ।

पादयोर्दाढिकायां च ग्रीवायं वृषणेषु च ।। २८३ ।।

(अध्याय आठ)

शूद्रले रिसाएर ब्राह्मणको केश, गोडा, दाह्री, गर्धन या अण्डकोश समात्यो भने राजाले केही नसोचिकन त्यसका दुबै हात काट्न लगाउनुपर्छ ।

 

शूद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा ।

दास्यायैव हि सृष्टोसौ ब्राह्मणस्य स्वयंभुवा ।। ४१३ ।।

(अध्याय आठ)

किनेको होस् वा नहोस् शूद्रबाट नोकरको काम गराउनुपर्छ, किनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि नै उसलाई बनाएका हुन् ।

 

ब्राह्मणान्वाधमानं तु कामादवरवर्णजम ।

हन्याच्चित्रैर्वधोपायैरुद्वेजनकरैर्नृप: ।। २४८ ।।

(अध्याय आठ)

शूद्रले जानिबुझिकन ब्राह्मणलाई दु:ख दिन्छ भने राजाले शूद्रलाई अनेक प्रकारका दु:खदायी उपायले मार्नुपर्छ ।

 

निचोड

 

नेपालमा जङ्गबहादुरको १९१० को मुलुकी ऐन मनुस्मृतिको छायाँ जस्तो लाग्छ ।यसमा प्रयुक्त सजाय, जातजातिको बर्गीकरण,शैक्षिक निषेधाज्ञा आदि हेर्दा लगभग एउट‌ै मनोवृत्तिबाट तयार भएको देखिन्छ ।कतिपय धार्मिक सुधारक मनुस्मृति मात्र हिन्दु धर्म हो र? भन्नुहुन्छ । तर हिन्दु बहुल जातिको बसोबास रहेको नेपाल र भारत जस्ता ठाउँमा (जन्मदेखि मृत्युसम्म।अझ ८४जुनीको कुरा छ।)मनुस्मृतिबाटै निर्देशित धार्मिक सत्ता मात्रै होइन ।सामाजिक /सांस्कृतिक मुल्य,मान्यता स्थापित छन् ।समाजको शिक्षित भनिएको जमात समेत मानसिक रुपमा मनुस्मृतिबाटै निर्देशित देखिन्छन् । मनुस्मृतिले हिन्दु बहुल समाजमा गहिरो गरि जरा गाडेको छ ।तसर्थ समाज विकासलाई आधुनिक र समतामूलक बनाउन राज्य सत्ताका अतिरिक्त धार्मिक सत्तामा पनि परिवर्तनको आवश्यकता रहन्छ।

 

( लेखक रघु परियार नेपाली जनता दलको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । )


सम्बन्धित खवर