ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सेवासुविधा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह


काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गरेको सेवा र सुविधा प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेकी छन्। शुक्रबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै ज्येष्ठ नागरिक स्वास्थ्य बिमा‚सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेकाले प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न आह्वान गरेकी हुन्।

भण्डारीले ज्येष्ठ नागरिकबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्नसक्ने धारणा राखेकी छन्। जारी शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव‚सफलता–असफलता र संघर्षपूर्ण भोगाईबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ। उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछ। ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ।’

भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन्, उनले भनेकी छन्,‘माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु।’

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या बढ्दै गएको शुभकामना सन्देशमा उल्लेख छ। उनले कोरोना महामारीविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्।

राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय  निर्धारण गरेको छ। तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मेहनतले मात्र अभियान सार्थक हुने बताइएको छ।
संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् सन् १९९१ देखि आजको दिन नेपालले पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएका छौं।

आजको अन्नपूर्ण पोष्टमा खबर छ ।


सम्बन्धित खवर