जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा बुधबार (आज) विश्वासको मत लिने छन्। सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान अनुसार राउतले विश्वासको मत लिन लागेका हुन्।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

भदौ ९ गते जसपा विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको हो। तर, जसपाले जनप्रतिनिधीहरुलाई निर्वाचन आयोगले दल रोज्न समय २२ भदौसम्म तोकेकाले त्यसलाई दलको विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
प्रदेश २ मा जसपा ३८, नेपाली काँग्रेसको १९ र नेकपा माओवादी केन्द्रको ८ सांसद सहित गठबन्धनको सरकार रहेको छ। १३ जना सांसद रहेको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई समर्थन गरेको छ। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको १ र स्वतन्त्र १ सांसदको समेत राउतलाई समर्थन छ।
यता, प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लोसपाले भने सदनको आजको बैठकमा मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ। राउतले राजीनामा नदिएको खण्डमा सदन अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।