
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञटोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।
सिस्डोलबाट संकलित तीन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । विज्ञटोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ । पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ ।
नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ । आज नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भइरहेको छ ।