
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले हिजो शुक्रबार एक सूचना निकालेर तत्कालका लागि बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।
‘अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ । अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।