गायिका दिलमायाको मृत्युबारे प्रहरीले सक्यो अनुसन्धान, हत्या भएको निष्कर्ष


काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ । प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ ।

असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका–११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन् । सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो। शनिबार बिहान १ः२० मिनेट जाँदा उनको फेसबुकमा ‘सुसाइड नोट’ भेटिएको थियो । जसकारण पनि उनले आत्महत्या नै गरेको हो कि भन्ने आशंका गरिएको थियो। अनुसन्धानको क्रममा उनीसँगै खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुल्यो । श्रेष्ठ दिलमायाका प्रेमी हुन् । घरबेटीलाई भने उनीहरूले आफूहरू श्रीमान–श्रीमती भएको बताएका थिए ।

दिलमायाको शव सुरूमा घरबेटीले देखेका थिए । फेसबुकमा सुसाइड नोट देखेपछि फ्यानहरूले उनको नम्बरमा फोन गरेका थिए । उनको फोन अफ भएपछि घरबेटीलाई फोन गरिएको थियो । घरबेटी जाँदा दिलमायाको कोठा खुल्ला नै थियो । उनी भित्र मृत फेला परेकी थिइन् । प्रहरीले यस घटनामा अनुसन्धान गर्दा पोष्टमार्टमको रिपोर्टले पनि धेरै खुल्ने बताएको थियो । रिपोर्टमा दिलमायाको मृत्यु झुन्डिएर भएको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको सल पनि फेला पारेको थियो । जुन खिलबहादुरले लगेर फ्याँकेका थिए । सल काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाडीमा फेला परेको थियो । दिलमायाले यसअघि आत्महत्याको प्रयास गरेको खुलेको थियो । खिलबहादुरसँग बस्न थालेदेखि उनी डिप्रेसनमा भएको र त्यसकारण नै उनले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तम श्रेष्ठले बताएका थिए ।


सम्बन्धित खवर