
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् । बिहान ११ बजे अस्पताल पुग राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा.उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् ।
यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए । नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा.पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।
यसैबीच काँग्रेस नेता प्रदीप गिरीको परिवारले उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ । नेता गिरीको परिवारका सदस्य भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन् । विज्ञप्तिमा उनले भनेकी छन् ः ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु । नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमोनिया र क्यान्सरजन्य जटिलताको उपचारको लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विज्ञप्तिमा भारतीले भनेकी छन् ः उनको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि एक साताअघि इम्युनोथेरापी गराइएको थियो । त्यसले उनको स्वास्थ्यमा थप असर गर्यो र उनलाई ‘मल्टिपल अर्गान फेलर धेरै अंगले काम नगर्ने स्थिति भयो । क्यान्सरविज्ञ (ओन्कोलोजिस्ट), छाति रोग विज्ञ (पुल्मुनोलोजिस्ट), पाचन प्रक्रिया विशेषज्ञ (ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट), मृगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट), इन्टरनल मेडिसिनका डक्टर (इन्टर्निस्ट) र क्रिटिकल केयर विशेषज्ञ सम्मिलित डाक्टरहरुको एक टिमले प्रदीप गिरीको स्वास्थ्यस्थिति चौबीसै घण्टा निगरानी गरिरहेका छन् । यो टिमले उनको पूर्ण स्वास्थ्यलाभको लागि प्रयास गरिरहेको छ