सच्चियो कविराम र कर्णबहादुरको नागरिकता


दैलेख । नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुवैको नाम सच्याइएको छ । नेपाली नागरिकतामा ’कुकूर कामी’ लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको हो । साविक मेहेलतोली गाविस–६ हाल भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम र साविक कट्टी गाविस–६, हाल भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकता जारी गरेको हो । तत्कालिन मेहेलतोली गाउँ पञ्चायत–६, हाल भगवतीमाई गाउँपालिका–३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुगेका छन् । तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए ।

तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उनलाई ’कुकूर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो । नागरिकतामा अपमानजनक नाम भएको विषयमा साउन १७ गते समाचार प्रकाशन गरेको थियो । साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो ।

गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिएका थिए । कविरामजस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साविक कट्टी गाविस–६, हाल भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुरको पनि नागरिताको महलमा कर्णबहादुर कामी लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् ।

नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिएका थिए । आवश्यक प्रक्रिया पु¥याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

हामीले नागरिकतामा कुकूर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विकलाई नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ, प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । उनले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिहरुलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।


सम्बन्धित खवर