प्रेम आचार्यले उठाएका बिषयमाथि छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको छ । बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई नै दिएको छ । आचार्यको मृत्युपछि नागरिकहरु सरकारसँग रुष्ट भएका बुधबार बिहानैदेखि विभिन्न कार्यक्रम गरेका छन् ।

सरकारले आचार्यको माग सम्बोधन नगरेको बताउँदै आफन्तले बुधबार बिहानैदेखि आचार्यको शव बुझ्न मानेका थिएनन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार कीर्तिपुर अस्पताल पुगेपछि बल्ल परिवारजन तथा आफन्तले शव जिम्मा लिएका हुन् । परिवारजन तथा आफन्तले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल गर्दा कुनै जवाफ नआएको बताएका थिए ।

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन् ।


सम्बन्धित खवर