
काठमाडौं :आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।
सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो।
आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।
अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्।
सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन्।