तीन जहाज खरीद गर्ने वायुसेवा निगमको निर्णय


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन जहाज खरीद गर्ने भएको छ । आन्तरिक उडानमा सेवा विस्तार गर्ने लक्ष्य सहित निगमले तीन जहाज खरीद गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरीद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरीद गर्न लागेको उनले बताए ।

निगमसँग आन्तरिक उडानका लागि हाल दुई वटा ट्वीनअटर जहाज छन् । ती जहाज मार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ । तीन साना जहाज खरीद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ ।

यसका लागि विशेष पहल गरी यथाशक्य छिटो जहाज खरीद गरिने निगमले जनाएको छ । यसका लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरसमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।

उपसमितिले कार्य शुरू गरिसकेको निगमले जनाएको छ । निगमले नयाँ तीन वटा जहाज खरीद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ ।

 

 


सम्बन्धित खवर