
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । परिषद्को बैठक बिहान ८ बजेपछि सिंहदरबारमा बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
लामो समयसम्म न्यायलय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशिघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवासहितको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेको थियो ।
सोही अनुसार बैठक बस्न लागेको हो । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहनेछन् । प्रधानन्यायाधीश नियुक्त गर्ने प्रयोजनमा भने कानुनमन्त्री पनि बैठकमा सहभागी हुनेछन् ।