
काठमाडौं । बारा, चितवन र तनहुँमा प्रतिनिधिसभा सदस्यका निम्ति आगामी साता हुने उपनिर्वाचनमा इसाईहरूको सङ्गठित मत फेरि पनि रास्वपामा नै जाने भएको छ । तीनवटै जिल्लाको स्थिति अध्ययन गरिएपछि प्रहरी प्रशासनसम्बद्ध निकायले उक्त तथ्य फेला पारेको हो । रास्वपाले वैदेशिक रोजगारमा रहेका परिवारका सदस्यहरूको घर पहिचान गरि तिनको मत प्राप्त गर्ने प्रयासलाई प्राथमिकतामा राखेको बुझिन्छ । त्यस्तै काङ्ग्रेस, माओवादी र एमालेको असन्तुष्ट मत आफूतिर आकर्षित गर्ने प्रयास पनि रास्वपाले गरिरहेको छ, तर यसपटक तीनवटै जिल्लामा पुराना दलहरूले आफ्नो प्रभाव र हैसियत कायम राख्न हरसम्भव कोसिस गरिरहेका छन् ।
गत मङ्सिरमा सम्पन्न निर्वाचनमा पुराना दलहरू सचेत थिएनन् । आफ्नो हैसियत कसैले खोस्न नसक्ने विश्वासमा दलहरू थिए, तर अहिले उनिहरू सचेत र आक्रामक देखिएका छन् । बारामा जसपा, चितवनमा एमाले र तनहुँमा काङ्ग्रेस विजयी बन्नुलाई सबै पुराना दलहरूले आफ्नो सफलता ठान्ने स्थिति बनेको छ । अन्य कोही नजितुन् भन्नेमा दलहरूबीच अघोषित समझदारी बनेको अवस्था छ । नगद खर्च र प्रचार रणनीतिमा रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा पुराना पार्टीहरूलाई उछिनेको छ, तर मतमा भने चितवनमा मात्र रास्वपा यो सामाग्री तयार पारिँदा (मङ्गलबार)सम्म अगाडि देखिएको छ ।
तथापि पहिले झैँ रास्वपाको स्थिति एकलौटी बन्न सकेको छैन । एमालेले पहिले बाहिरिएको दश हजार बढी आफ्नो मत फर्काइसकेको देखिन्छ भने काङ्ग्रेसले पनि यस दिशामा निकै प्रगति गरेको मानिन्छ । काङ्ग्रेसको देउवाविरोधी नेता÷कार्यकर्ता जितनारायण श्रेष्ठको जित चाहन्छन् भन्ने अहिलेसम्म ब्यवहारबाट पुष्टि हुन सकेको छैन भने गठबन्धनका साझेदार माओवादीको सबै मत काङ्ग्रेसलाई जाने विश्वासको आधार पनि देखिँदैन । गत निर्वाचनमा रास्वपातिर गएको माओवादी मत फर्किन बाँकी नै देखिएको छ । तर पहिले करिब उनान्चास हजार मत ल्याएर विजयी बनेको रास्वपाले अहिले पन्ध्रदेखि अठार हजार मत गुमाइसकेको अवस्था छ । यति हुँदा पनि रास्वपा एकतीसदेखि चौँतीस हजार मतसहित अगाडि रहेको अनुमान गरिन्छ ।
एमालेले आफ्नो स्थितिमा निकै सुधार गरेको भएपनि अहिले छब्बीसदेखि तीस हजार मतमा पुगेर अड्किएको छ । आगामी चार दिनभित्र कुनै ‘चमत्कार’ भएको अवस्थामा मात्र एमाले विजयी बन्नसक्ने छ । काङ्ग्रेसले विजयको आधार खडा गर्न अलिक बढी नै मेहनत गर्नुपर्ने अवस्था देखापरेको छ । त्यसैले चितवनमा रास्वपा र एमाले मूल प्रतिष्पर्धी पार्टी बनेका छन् । तनहुँमा भने एमालेको उम्मेदवार विवादास्पद र कमजोर परेका कारण काङ्ग्रेस र रास्वपाका उम्मेदवार मूल प्रतिष्पर्धी भूमिकामा देखिएका छन् । अघिल्लो निर्वाचनमा राप्रपासमर्थकहरूको मत रास्वपालाई गएको थियो । यसपटक उक्त मत जोगाउन नसक्ने हो भने रास्वपाका उम्मेदवार पराजित हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।
काङ्ग्रेसका गोविन्द भट्टराईले आफ्नो स्थितिमा पहिले भन्दा निकै सुधार गरिसकेको अवस्था छ । काङ्ग्रेसको रामचन्द्र पौडेलसमर्थक कैयन मतदाता अहिले रास्वपाको उम्मेदवारतिर सरेकोले काङ्ग्रेसलाई अलिक मेहनत गर्नुपर्ने अवस्थामा पु¥याएको हो । रास्वपाका उम्मेदवार पौडेलको निकै नजिकका नातेदार हुन् । त्यसैले पौडेलका कैयन मानिस अहिलेसम्म रास्वपातिर ढल्किएको देखिँदैछ । गोविन्दराज जोशीसमर्थक मतदाताले कसलाई मतदान गर्नेछ भन्ने कुराले पनि चुनावी परिणामलाई असर गर्ने स्थिति छ । यहाँ झिनो मतान्तरले हारजित हुने अवस्था रहेपनि अन्ततः काङ्ग्रेसकै उम्मेदवार विजयी बन्ने विश्वास धेरैले गरेका छन् ।
बारामा जनमत पार्टी र जसपाका उम्मेदवार मूल प्रतिष्पर्धी बन्न पुगेका छन् । काङ्ग्रेस, माओवादी र एकीकृत समाजवादीका मतदाताहरूले इमान्दारीका साथ उपेन्द्र यादवलाई मतदान गरेमा यादवको विजय निश्चित मानिन्छ । होइन भने जनमत पार्टीका उम्मेदवार विजयी बने भने पनि कुनै आश्चर्य हुनेछैन । सीके राउतले उपेन्द्रको पराजयलाई आफ्नो प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेको बुझिन्छ । जे भएपनि यो समाचार तयार पार्दासम्म उपेन्द्र नै अगाडि देखिएका छन् । उक्त निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार पूर्व डीआइजीले जमानत बचाउन सक्नुलाई नै उनको सफलता मान्नुपर्ने स्थिति रहेको छ ।
पुराना पार्टीहरूको अघोषित समझदारीलाई हेर्दा बारामा जसपा, चितवनमा एमाले र तनहुँमा काङ्ग्रेसले बाजी मारÞ्यो भने पनि कुनै आश्चर्य हुने छैन । तर अहिलेकै स्थिति कायम रहेमा भने चितवन रास्वपाले नै लैजाने सम्भावनालाई इन्कार गर्न सकिन्न । रास्वपा विजयी बनेको अवस्थामा पनि मतान्तर भने धेरै नै कम हुने देखिएको छ ।