काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणअनुसार अधिकांश विकास बैंकको नाफा घटेको छ । सो अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बाहेकका सबै राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा गिरावट आएको छ । संचालनमा रहेका आठ वटा राष्ट्रिय स्तरका विकास बैंकहले ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेका छन् । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने २६.७९ प्रतिशतले कमी हो ।
गत आवको समिक्षा अवधिमा बैंकहरुले ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ नाफा कमाएका थिए । तेस्रो त्रैमाससम्म शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १४.३८ प्रतिशतले बढेर ५५ करोड ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा गत आवको तुलनामा २१ प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड बढी नाफा आर्जन गरेको थियो । यस्तै, गरिमा विकास बैंकले ६५ करोड १८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, बैंकको यो नाफा गत आवको तुलनामा भने १६.९२ प्रतिशतले कमी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले ७८ करोड ४६ लाख बढी नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको नाफा ४६ करोड ८१ लाख रहेको छ । तर यो गत आवको सोही अवधिको तुलनामा ८.३२ प्रतिशतले कमि हो । महालक्ष्मी विकास बैंकले ३७ करोड ८९ लाख कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ४६.९४ प्रतिशतले कमि हो । साथै, कामना सेवा विकास बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३९.४१ प्रतिशतले घटेको हो । यो अवधिमा विकास बैंकहरुमध्ये सबैभन्दा धेरै ज्योति विकास बैंकको नाफा घटेको छ । बैंकको नाफा यो अवधिमा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड ५७ लाख ३२ हजार रुपैयाँ थियो । त्यसैगरि सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा पनि ३८.५६ प्रतिशतले घटेर २४ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । बैंकले गत आवको समिक्षा अवधिमा भने ४० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।