टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा


काठमाडौँ । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ । टोपबहादुरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले खोजिरहेको छ । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका थिए । उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रया उनले दिएका थिए ।

कानुनलाई सघाउँछु भनेका रायमाझी बुधबार रातिदेखि नै फरार छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले बताएको थियो । रायमाझी बुधबार नै समाभुख घिमिरेसँगै काठमाडौँ फर्किने भन्दै सोही प्लेनमा टिकटसमेत भइसकेको थियो । तर, यता काठमाडौँ विमानस्थलमा झर्नेबित्तिकै प्रहरीले उनलाई पक्रिने सुइँको पाएपछि उनी फरार भएका हुन् । उनी बुटवलतिर लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनलाई काठमाडौँबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको छ । उता बुटवल प्रहरीले पनि रायमाझी पक्राउ परिनसकेको जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार उनलाई बुधबार साँझ नै पक्राउ गरिएको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो ।


सम्बन्धित खवर