
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।
नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुन् । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।
सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने तयारी रहेको जानकारि नेपाली सेनाकाको छ ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।
काठमाडौंमा गत वर्ष तीन हजार ६०० को संख्यामा सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी रहेकामा यस वर्ष कोभिड–१९ का कारण त्यो संख्या कटौती गरी दुई हजार ४०० मा सीमित तुल्याइएको छ ।
राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल पनि प्रदर्शन गरिनेछ ।
सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।