
काठमाडौं । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका शिक्षकले बुधबार प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलबाट शुरू भएको शिक्षकहरूको र्याली नयाँ बानेश्वर पुगेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार ३४३ सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन् । यस्तै, सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ विद्यार्थी छन् । उनीहरू विद्यालयको पढाइ बन्द गर्ने गरी काठमाडौं पुगेका हुन् ।
अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षाशिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायत विषय सम्बोधन गर्न माग गरेका छन् ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले देशभरका शिक्षकलाई आन्दोलनमा भाग लिन काठमाडौंमा बोलाइएको बताए । केही शिक्षक आइसकेको र केही आउने क्रममा रहेको सुवेदीले बताए । शिक्षकका माग सम्बोधन नहुँदासम्म आन्दोलन नरोकिने उनको भनाइ छ ।