
काठमाण्डौं : नागढुङ्गा–सिस्नेखाला सुरूङमार्ग निर्माण अघि बढेको छ। अहिलेसम्म सुरूङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ।
गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालू आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरूङमार्ग आयोजनाले जनाएको छ।
गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। शनिबारबाहेक अरू दिनमा रातदिन काम भइरहेको छ अहिले सुरूङमा चौबीसै घण्टा काम भइरहेको छ।
।
सुरूङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ। पूर्वतर्फबाट मुख्य सुरूङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मि खनिसकिएको आयोजनाले जनाएको छ।
आपतकालीन प्रयोगका लागि बनाइएको सुरूङ ४५ मि खनिएको छ। सुरूमा कठिन भूगोलमा सुरूङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताए।
उनले भने, ‘अबको दिनमा सुरूङको गति बढ्नेछ।’
सोही आयोजनाअन्तर्गत मुख्य सुरूङको अगाडिपट्टि नागढुङ्गामा ‘ओभरपास’ निर्माण भइरहेको छ।
सुरूङसम्म पुग्ने पहुँच सडक निर्माण अघि बढेको छ। आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रूपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ। पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ।
आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ।
सो स्थानमा स्थानीयबासीको उत्पादन सङ्कलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताए।
ठूलो मैदान बनाउने काम एक चरणको पूरा भएको उनको भनाइ छ।
आयोजनाले सुरूङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो। त्यसमध्ये अहिले एक महिना सकिएको प्रमुख शाक्यले बताए।
अबका समयमा १५ महिनामा खनिसकिने गरी काम अघि बढेको छ। खन्ने कामपछि सुरूङमा अन्तिम काम हुनेछ। त्यस क्रममा बत्ती जडान, आगो लाग्दा निभाउनका लागि बत्तीको व्यवस्थापन, सिसिटिभी राख्नेलगायत काम हुनेछ ।
निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ। नेपाली इञ्जिनियर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन्।
निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन्। अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन्। अहिले झण्डै ३५० कामदार कार्यरत छन्।
सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले बताए।
उनले भने, ‘नेपालको पहिलो सुरुङ भएकाले नेपाली प्राविधिकलाई पनि सिक्नका लागि अवसर भएको छ।
गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।
जापान सरकारको ‘सफ्ट लोन’मा सुरूङ निर्माण गर्ने गरी सम्झौता भएको थियो। सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ।