
काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादव सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी पुन काठमाडौं ल्याउन सक्रिय भएर लागेका छन । वर्र्षात्को बाढीले बगाएको क्षतिग्रस्त पहुँच सडक, बालुवाले पुरिएको हेडवक्र्स क्षेत्रलगायतको अवस्था अवलोकन पछि र मर्मत कार्यलाई तीव्रता दिन निर्देशन दिंदै काठमाडौंतर्फ पानी पथान्तरणका लागि सक्रिय भएर लागेका छन ।
हेडवक्र्स क्षेत्र पुग्न अब करिब आधा किमी सडक मात्र मर्मत गर्न बाँकी रहेको छ । बालुवा र गेग्रानले पुरिएको हेडवक्र्सको मर्मत गरी सकेसम्म २०८० मंसिर महिनाभित्र पानी काठमाडौं ल्याउने तयारीका साथ काम अगाडि बढाइएको छ । हेडवक्र्स पुग्ने सडक पहुँच मार्ग खुलाउन चार वटा स्काभेटर र डोजर परिचालन गरेर तीव्र रूपमा काम अगाडि बढाइएकोे छ ।
पहुँच सडकको मर्मतपछि हेडवक्र्स वरपर थुप्रिएको बालुवा, ग्रेग्रान र ढुंगा हटाएसँगै सरुङभित्र पसेको बालुवा निकालेर छिटोभन्दा छिटो पानी काठमाडौंतर्फ पठाउने तयारीका काम भइरहेको छ । ७४ वर्षीय मन्त्री यादव लौरो टेक्दै मंसिरको जाडोमा पानी ल्याउनका लागि आफैं सक्रिय भएर मेलम्ची पुगेका छन् ।