![]()
काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।
अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३(४ दिन लाग्ने आयोजना प्रमुख तिरेश खत्री बताउँछन् ।
तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।
‘यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुन्छ’ खत्रीले भने,’३ वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ, ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्ने अवस्था छ ।
अहिलेसम्म सुख्खा मैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ। अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ।
सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ ।
नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । खत्रीका अनुसार सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ । वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने उनले बताए ।
उद्घाटन गर्ने हतारोमा सरकारले सुरुङको सपरीवेक्षण गर्ने प्रोटोकल मिच्न लागेको भन्दै विज्ञले विरोध जनाउँदै आएका छन् । आयोजना प्रमुख खत्री भने ३ महिनापछि खाली गरेर सुरुङको अवस्था हेर्ने योजना रहेको बताउँछन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८(१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।
अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिए ।
९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ । ‘महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ,’ उनले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च गर्छौं ।’ परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरु पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ ।
नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्ण रुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने श्रेष्ठले बताए ।
‘अन्य निकायले विकासका काम गर्दा हामीले बिछ्याएको पाइपमा कतिपय ठाउँमा क्षति पुगेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘परीक्षणका क्रममा लिकेजहरु पनि भेटिन्छन्, त्यसलाई समाधान गर्दै काम गर्नुपर्छ ।’