
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई निषेध गरेर जाने भएपछि नेपाल समूह पनि प्रतिकार उत्रने भएको छ । एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले पार्टीको राष्ट्रिय भेला बोलाएर प्रतिकारको योजना तर्जुमा बनाउने भएको छ । साथै देशव्यापीरुपमा समानन्तर कमिटी निर्माणको तयारीमा समेत जुटेको छ ।
नेपाल पक्षले राष्ट्रिय भेला मार्फत आफ्ना कार्ययोजनाहरु तायर गर्ने भएको हो । राष्ट्रिय भेलामा केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘केपी ओलीले विघटन गर्नुभयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने।
नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रबार साँझ केपी ओलीबाट एकलौटी रुपमा गरिएको जिम्मेवारी हेरफेर अस्वीकार गर्ने र शसक्त प्रतिवाद गर्ने निस्कर्षमा पुगेको थिए । होटल अर्यालको बसाइपछि लफलपछि नेपाल पक्षका नेता रघुजी पन्तले ओली पक्षले गरेको निर्णय विधान विपरित भएको बताए । ‘पार्टीको विधान विपरित र एकतर्फी रुपमा गरिएको निर्णयको सशक्त प्रतिवाद गर्छौ त्यसलाई पार्टीले चिन्दैन’, पन्तले भने । शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर आोलीले आफू अल्पमतमा भएको २३ सदस्यीय कमिटी पनि खारेज गरिएको भएपनि शुक्रबार साँझ जारी गरिएको विज्ञप्तिमा भने त्यसबारे कुनै उल्लेख गरिएको छैन । स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन् ।
ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो । सो बैठकले भोलि शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको छ । महाधिवेशन हुन नसकेको अवस्थामा महाधिवेशनले गर्ने महत्वपूर्ण निर्णयहरु त्यसअघि नै गर्नुपरेमा राष्ट्रिय भेलाको आयोजना गरिन्छ । प्रधानमन्त्री ओलीले आफू पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल सुरु गरिसकेको छ ।